
शनिवार , कार्तिक २२, २०७७
बुटवल २२ कार्तिक ।
कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २० औ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभामा बोल्ने वक्ताहरुले सहकारी संस्थाहरु शेयरसदस्य मैत्री हुनुपर्नेमा जोड दिएका छन ।
सहकारीको मुल मर्म भनेकै शेयर सदस्यहरुलाई आर्थिक लाभ दिन र समस्या परेको समयमा सजिलै रकम उपलब्ध गराउन सक्नुपर्नेमा वक्ताहरुको भनाइ थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका उपाध्यक्ष तथा कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाका निर्वतमान अध्यक्ष डोल प्रसाद अर्यालले एक व्यक्ति एक सहकारीलाई अनिवार्य व्यवहारमा पालना गर्न आग्रह गरे । उनले एक स्थानीय तहमा समान प्रकृतिको एक भन्दा बढी सहकारीमा शेयरसदस्य नहुन र भएको भए त्यसलाई व्यवस्थापन गर्न माग गरे । उपाध्यक्ष अर्यालले सहकारी संस्थाहरुले सामाजिक उत्तरदायित्वलाई पनि ध्यानमा राखी वार्षिक कार्यक्रममा समेट्नुपर्नेमा जोड दिए ।
साधारणमा ७० वर्ष पुरा भएका संस्थाका शेयर सदस्य कुल ध्वज लामा, कृष्ण बहादुर रानामगर, वर्ण बहादुर राना र नारायण प्रसाद भण्डारीलाई पेन्सनवापतको जनही नगद ६ हजार प्रदान गरिएको थियो । त्यस्तै सहकारीका जेष्ठ शेयर सदस्य पदम बहादुर पाण्डे र लिला देवी अर्याललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
साधारणसभाले अध्यक्ष लक्ष्मण आचार्य क्षेत्रीद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, कोषाध्यक्ष टंक कुमार खडकाद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को अनुमानित वार्षिक बजेट र सहकारीको नियमावली संशोधन सम्बन्धमा उपाध्यक्ष डोलराज पाण्डेद्वारा प्रस्तुत प्रतिवेदन पारित गरेको सचिव कृष्ण प्रसाद ज्ञवालीले बताए ।
साधारण सभामा बालुराम गिरीले लेखा समिति, देउ प्रसाद पुनले मुल्यांकन तथा अनुगमन उप–समिति र यज्ञ प्रसाद पंगेनीद्वारा शिक्षा उप-समितिको प्रतिवेदन प्रस्तुत गरिएको सहकारीका व्यवस्थापक लालकाजी राजभण्डारीले बताए ।
साधारणसभामा संस्थाका सल्लाहकार नवराज श्रेष्ठ, शेयर सदस्य हरि प्रसाद रेग्मीले सहकारीलाई सिस्टममा सञ्चालन गरिए शेयर सदस्यहरुको लगानी सुरक्षित हुने धारणा राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij