२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

तिलोत्तमाको मेयरमा एमालेबाट चापागाईंको उम्मेदवारी दर्ता

विष्णु पौडेलले दिए शुभकामना

सोमवार , बैशाख १२, २०७९

बुटवल, १२ वैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट मोहन चापागाईंले प्रमुख (मेयर) पदमा उम्मेदवारी दर्ता गराएका छन् । एमाले प्रदेश कमिटी सदस्य र नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष समेत रहेका उनले तिलोत्तमा नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यसै गरी उप्रमुख (उपमेयर) मा जगेश्वरदेवी चौधरीले उम्मेदवारी दर्ता गराएकी छन् । तिलोत्तमाका १७ वटै वडाका वडाअध्यक्ष एवं सदस्य समेत गरी ८७ जनाको उम्मेदवारी दर्ता गरिएको एमाले तिलोत्तमा नगर कमिटी अध्यक्ष तामनाथ पाण्डेले जानकारी दिए । 

उम्मेदवारी दर्ताका लागि एमालेको कार्यकर्ता बाजागाजा र र्यालीसहित निर्वाचन कार्यालय पुगेका थिए ।

र्यालीमा उम्मेदवारसहित तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे लगायत ठूलो संख्यामा कार्यकर्ता सहभागी थिए । त्यसअघि एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु प्रसाद पौडेलले मेयर, उपमेयर लगायत सबै उम्मेदवारलाई शुभकामना दिएका थिए । कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य, लुम्बिनी प्रदेश सह–इञ्चार्ज तथा पूर्वमन्त्री लिला गिरी पनि उपस्थित थिए । 

त्यसक्रममा उनले एमालेले ७५३ स्थानीय तहमध्ये ६० प्रतिशत स्थानमा विजयी हासिल गर्ने दावी गरे । तिलोत्तमा नगरपालिकामा एमालेले नेतृत्व गर्दा मुलुककै नमूना नगर बन्न सफल भएको भन्दै उनले गठबन्धन सामू एमाले एक्लै विजय हासिल गर्न सक्षम रहेको बताए ।

तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले पाँचदलीय गठबन्धनलाई परास्त गर्न एमाले तयार रहेको भन्दै विगतमा भन्दा भारी मतान्तरले जित निकाल्ने दावी गरे । नगरप्रमुख घिमिरेले तिलोत्तमा नगरपालिकाले गरेका राम्रा कामहरुकै कारण देशभर चर्चा बटुलिरहेको अवस्थामा कतिपय कामहरुको दिगो व्यवस्थापन गर्न बाँकी रहेकोले ती काम पुरा गर्ने जिम्मेवारी चापागाईले लिनुपर्ने भन्दै शुभकामना दिएका थिए ।