
बिहिवार , बैशाख १५, २०७९
बैसाख १५ । रुपन्देहीको तिलोत्तमामा गठबन्धनले औपचारिक रुपमा घरदैलो अभियान शुरु गरेको छ । बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वारी दिएका गठबन्धनभित्रका उम्मेदवारहरु घरदैलोमा पुगेर आफ्ना एजेण्डाहरु सुनाउन थालेका हुन् । यहां नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेर चुनावी अभियान संचालन गरिरहेको छ ।
बिहिबार वडा नं. ९ को मंगलापुरबाट घरदैलो अभियान शुरु गर्दै गठबन्धन दलका उम्मेद्वारहरुले यो निर्वाचनमा आफूहरुको जीत निश्चित भएको दाबी गरे ।
कार्यक्रममा बोल्दै तिलोत्तमाको मेयर पदका उम्मेद्वार नेपाली कांग्रेसका युवा नेता रामकृष्ण खाँणले गठबन्धनका उम्मेद्वारलाई भारी मतले जिताउन मतदातासमक्ष अनुरोध गरे । आफूले मेयर पदमा जिते नगरको समग्र विकासमा तीब्रता दिने उल्लेख गरे । यसअघिको नगरपालिकाको नेतृत्वले विभिन्न परियोजनाको नाममा अनियमितता गर्ने गरेको आरोप लगाउँदै अब आउने नेतृत्वले त्यस्तो नगर्ने दाबी गरे ।आफुले जितेपछि अहिले रहेको नगरपालिकाको आधुनिक भवनलाई अस्पताल बनाउने उल्लेख गरे । जनताको घरमा पंखा नभएको तर जनप्रतिनिधिले एसी लगाएर सुविधा सम्पन्न भवनमा बस्न नहुने उनको भनाइ छ ।
नगरपालिकाकाका लागि अर्को सामान्य भवन बनाएर काम गर्ने उनको भनाइ छ । उनले एकिकृत सम्पत्ती कर घटाउने,नगरका १७ वटै वडामा स्तरिय सामुदायिक बिद्यालय चलाउने,नगरका सबै सडक सरकारकै पैसाले पिच गर्ने समेत बताए ।
कार्यक्रममा उपमेयरका उम्मेद्वार माओवादी केन्द्रका नेता हेमलाल पाण्डेले नेकपा एमालेको हालको नेतृत्वले विभिन्न परियोजना संचालन गर्दा भ्रष्टाचार गर्ने गरेको तर्क गरे ।
नगरप्रमुखले तलबभत्ता नलिने तर नीतिगत भ्रष्टाचार गर्ने गरेको आरोप उनले लगाए ।कार्यक्रममा कांगेस्र नेताहरु बाबुराम राना, हरिलाल पाण्डे, नारायण न्यौपाने, माओवादी नेताहरु बेलप्रसाद शर्मा, गोविन्द रेग्मी, गोपाल बस्याल लगायतले बोल्दै यो निर्वाचनमा गठबन्धनमा आबद्ध दलको बिजय हुने दाबि गरे । वडा न २ र ४ र ९ मा घरदैलो गरिएको हो । तिलोत्तमामा कांग्रेसले शुक्रबार आफ्ना प्रतिबद्धता (घोषणापत्र) सार्बजनीक गर्दैछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij