
सोमवार , कार्तिक २४, २०७७
भैरहवा, २४ कार्तिक ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यथाशिघ्र सञ्चालनको माग गरेको छ । संघले तत्काल सम्बन्धित मन्त्रालयमार्फत प्रविधि जडान गर्ने अन्तर्राष्ट्रिय प्राविधिकहरु ल्याइ निर्माण कार्य यथाशिघ्र सम्पन्न गरी विमानस्थल संचालनको वातावरण मिलाउन माग गरेको हो ।
संघका कार्यवाहक अध्यक्ष अरुण कुमार गोयनको नेतृत्वमा निर्माणाधिन विमानस्थल पुगेको टोलीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजनाका प्रमुख इञ्जिनियर प्रवेश अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै विमानस्थल सञ्चालन नहुँदा यस क्षेत्रको पर्यटन लगायतका आर्थिक गतिविधिहरुका समेत असर पर्न जाने देखिएकाले यथाशिघ्र सञ्चालन गर्न माग गरेको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार पनि करिब अझै दुई वर्ष भन्दा बढीसम्म कोरोनाको असर रहने हुँदा त्यसैलाई देखाउँदै निर्माणाधिन विमानस्थलको प्रविधि जडान लगायतका अन्तिम चरणका कार्यहरु रोकिदा विमानस्थल संचालन हुन नसक्दा आर्थिक गतिविधिहरुमा असर परेको संघका कार्यवाहक अध्यक्ष गोयनकाले बताए ।
‘यस विषम परिस्थितिमा पनि निकट भविष्यमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भइ संचालन हुने र त्यसबाट यस क्षेत्रका सम्पूर्ण पर्यटन उद्योगसंग सम्बन्धित सबै उद्योगी व्यवसायीहरुले त्यसको प्रत्यक्ष अप्रत्यक्ष लाभ प्राप्त गर्र्ने सकारात्मकतासहित विद्यमान विभिन्न र्बैक ब्याज, घरभाडा, कर, विभिन्न सरकारी राजस्व, कर्मचारी तलब आदि भुक्तानी गर्नुपर्ने चुनौतिहरु व्यवस्थापन गर्दै आएका छौं, ध्यानाकर्षण पत्रमा उल्लेख छ ।’
गत २०७६ चैत्र ११ गते देखि करिब ६ महिना लामो निरन्तरको लकडाउन तथा निषेधाज्ञाको पूर्ण रुपमा पालना गरी आ–आफ्ना पर्यटन व्यवसायीहरुले आफ्ना सबै व्यवसायिक गतिविधिहरु पूर्ण रुपमा बन्द गरी कोरोनाविरुद्धको लडाइमा सरकारलाई पूर्ण सहयोग गरेको संघका महासचिव नेत्र प्रसाद आचार्यले बताए ।
ध्यानाकर्षण पत्र बुझाउन संघका कार्यवाहक अध्यक्षसहित पदाधिकारी, कार्यसमिति सदस्यहरु विमानस्थल पुगेको कार्यकारी सचिव आनन्द खनालले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij