२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

रोहिणीमा कृषकहरुलाई आत्मनिर्भर बनाउने पहिलो प्राथमिकता

आइतवार , बैशाख २५, २०७९

भैरहवा, २५ वैशाख ।

रोहिणी गाउँपालिकालाई कृषि पर्यटनका रुपमा अगाडी लैजाने आफ्नौ योजना रहेको गाउँपालिका अध्यक्ष पदका उमेदवार सनोज कुमार यादवले बताएका छन् ।

पाँच वर्ष रोहिणी गाउँपालिकाको अध्यक्ष पदमा रही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुनः नेकपा (एमाले) बाट अध्यक्ष पदमा उम्मेदवारी दिएका यादवले रोहिणी गाउँपालिकालाई कृषि पर्यटनको क्षेत्रमा विस्तार गरी कृषकहरुलाई आत्मनिर्भर बनाउने बताएका छन् ।

पाँच वर्षे कार्यकालमा आफूले रोहिणी गाउँपालिकालाई शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधारका क्षेत्रमा कसरी विकास गर्न सकिन्छ भनेर अध्ययन गरी अधिकांश कामहरु सुरुवात भइसकेको अवस्थामा ती कार्यक्रमहरुलाई पुरा गर्दै पालिकालाई कृषि पर्यटनका माध्यमबाट अगाडी बढाउने आफ्नो योजना रहेको उनले बताए ।

‘हामीले पहिलो वर्ष पालिकाभित्रको कुनै पनि स्थानमा ५० विगाहा जमिनबाट पकेट खेती सुरु गर्छौं । यसबाट रोहिणी गाउँपालिका भित्रका सबै वडाका कृषकहरुले अध्ययन गर्नेछन् । दोस्रो वर्ष पालिकाको सात वटै वडाहरुमा पकेट खेती सुरु गरी कृषकहरुलाई आत्मनिभर बनाइनेछ । पकेट खेतीका लागी पहिलो वर्ष पालिकाले बिउबिजन, मलखाद र सिचाई अनुदान दिइनेछ भने उत्पादित सामग्रीको बजारीकरणका लागी पनि पालिकाले सहयोग गर्नेछ, ’उनले भने । परम्परागत रुपमा चलिआएको कृषि पेशालाई रोहिणी गाउँपालिकाको सबै वडाहरुमा छुट्टाछुट्टै पकेट क्षेत्र बनाएर खेती गर्नका लागी प्रोत्साहन गर्ने अध्यक्षका उम्मेदवार यादवले बताए ।

‘एकै स्थानमा एकै प्रकृतिको खेती गर्दा हुने फाइदाका बिषयमा हामीले कृषकहरुसँग समन्वय गर्छौं । पालिकाले पहिलो वर्ष निःशुल्क रुपमा सहयोग गर्ने र उनीहरुलाई सक्षम बनाएसँगै दोस्रो स्थानमा काम सुरु गर्ने र ५ वर्षभित्र सबै वडाका कृषकहरुलाई सहभागी बनाई आत्मनिर्भर बनाउँछौ, ’यादवले भने । पालिकाभित्र सिंचाई सुविधा भएको क्षेत्र र नभएको क्षेत्रको पहिचान गरी माछापालन, कुखुरापालन, बाख्रापालन, हरियो तरकारी उत्पादन, गाईभैसी पालन, केरा खेती लगायतका खेती गर्नका लागी प्राविधिकसहितको सेवा निःशुल्क उपलब्ध गराउने यादवले बताए ।