
सोमवार , बैशाख २६, २०७९
लुम्बिनी । नेपाली कांग्रेस लुम्बिनी साँस्कृतिक नगरपालिका मेयरका उम्मेदवार सजरुद्दीन खानले लुम्बिनीको एकीकृत विकासका लागि कांग्रेसलाई विजयी बनाउनुपर्ने बताएका छन् । वितेका ५ वर्षमा लुम्बिनीमा विकासका कुनै पनि गतिविधि हुन नसकेको भन्दै उनले लुम्बिनीको पूर्वाधार विकासदेखि लिएर शिक्षा, स्वास्थ्य, पर्यटन रोजगारी सिर्जना गरी नगरलाई समृद्ध र सबल बनाउन आफू लगायत कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन मतदाता माझ आग्रह गरे ।
लुम्बिनी विश्व शान्तिको मुहान, बौद्ध धर्मालम्बिको आस्थाको केन्द्र हो, यहाँ आन्तरिक तथा बाह्य पर्यटकको घुँइचो लाग्ने गरेको छ तर, पर्यटकको बसाई लम्ब्याउन नसक्दा यहाँका पर्यटन व्यवसायीले खास लाभ लिन सकेका छैनन्, त्यसैले मैले पर्यटकको बसाई लम्ब्याउनका लागि विज्ञ समुह र पर्यटन व्यवसायीको परामर्शमा योजना बनाई कार्यक्रम ल्याउने छु, ’खानले भने।
उनले आफू निर्वाचित भएपछि पर्यटन क्षेत्रको विकासका लागि बौद्ध धर्म संस्कृति र सभ्यतालाई संरक्षण र प्रर्वद्धन गर्दै लुम्बिनीलाई आध्यामिक र साँस्कृतिक नगरको रुपमा विकास गर्ने योजना बनाएको उल्लेख गरे ।
लुम्बिनी भनेको धेरैले लुम्बिनी विकास कोषको ३३ वर्गमाईल बुझ्ने गरेका छन्, कोषको पर्खाल बाहिर पनि लुम्बिनी छ, हामीले पर्खाल बाहिरको लुम्बिनीको विकास गर्नु छ, यहाँका जनताको जीवनस्तर उकास्नु छ, खानले भने, ‘त्यसका लागि मैले लुम्बिनीमा रहेको आठ नम्बर जग्गामा वैदेशिक लगानी भित्र्याई संरचना र पूर्वाधार निर्माण गर्दै रोजगारीको सिर्जना गर्ने कार्यक्रम ल्याउन लागेको छु ।
उनले शिक्षाका क्षेत्रमा थुप्रै काम गर्न बाँकी रहेको उल्लेख गरे।
लुम्बिी साँस्कृतिक नगरपालिकामा शिक्षाको गुणस्तर निकै कमजोर रहेको छ, शिक्षालाई प्रविधिसंगै जोड्दै गुणस्तरीय र आधुनिक शिक्षा प्रदान गर्ने आफ्नो अठोट छ त्यसका लागि आफ्नो टीमले काम गर्ने बताए। नगरभित्र प्राविधिक शिक्षालयको स्थापना गरिने, महिलाहरुको प्राथमिकतामा राख्दै कन्या गर्ल कलेजको निर्माण गरिने खानले आफ्नो प्रतिवद्धता रहेको उल्लेख गरे। विद्यार्थीहरुको उच्च शिक्षाका लागि आबश्यक रकम विनियोजन गरी कार्यक्रम लागु गर्ने बताएका छन्।
त्यस्तै सेवा प्रवाहमा लाग्ने दस्तुरमा महिला, दलित, बालबालिका, अपांगता भएका व्यक्ति, विपन्न र अल्पसंख्यकलाई विशेष सहुलियतको व्यवस्था गर्दै अनावश्यक रुपमा लागू गरिएका कतिपय करको दर घटाएर करको दायरा बढाउने आफ्नो योजना रहेको खानको भनाइ छ।
उनले कृषकको लागि पनि थुप्रै योजना अघि सारेको जनाए। उनले कृषकको वाली बीमाका लागि वित्तीय संस्थासंग सहकार्य गरी आवश्यक कार्यक्रम ल्याइने जानकारी दिए। साथै सिचाईको उचित व्यवस्थापन मिलाउने जानकारी दिए।
साथै स्वास्थ्य क्षेत्रको विकासका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा, विद्यमान स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकीको स्तरोन्नति गरी गुणस्तरीय सेवा प्रवाह गर्ने योजना रहेको खानले जानकारी दिए। नगरपालिकाभित्र १ सय बेडको सामुदायिक अस्पताल निर्माण गरी जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने योजना रहेका उल्लेख गरे।
साथै पूर्वाधार विकासका क्षेत्रमा नगर भित्रका सम्पूर्ण गाउँलाई सडक संजालसँग जोड्दै कालोपत्रे एवं व्यवस्थित गर्ने तथा नगरवासीलाई स्वच्छ खानेपानीको आवश्यक प्रबन्ध मिलाइने उल्लेख गरे।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij