२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा चापागाईंको उम्मेदवारी

मंगलवार , कार्तिक २५, २०७७

नवलपरासी, २५ कार्तिक ।
नेपाल जेसीज वर्ष २०२१ को आसन्न निर्वाचनका लागि राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा भोजराज चापागाईले उम्मेदवारी दिएका छन्  ।

सन् २०१४ मा पश्चिम नवलपरासी जिल्लाको सुनवल १२ भुमहीमा स्थापना भएको रामनगर जेसीजमा स्थापना कालदेखि नै सक्रिय भुमिका निर्वाह गर्दै आएका उनले रामनगर जेसीज वर्ष २०१८ मा अध्यक्ष र  नेपाल जेसीज वर्ष २०१९ मा राष्ट्रिय उपाध्यक्ष पदको जिम्मेवारी कुशल ढंगबाट निर्वाह गरिसकेका छन् ।

२०१८ मा शाखा अध्यक्ष हुँदा जेसीजका चारवटै क्षेत्रमा रचनात्मक कार्य गरेको भन्दै नेपाल जेसीजले उनलाई मार्च र सेप्टेम्बर महिनामा ‘जेसिज अफ द मन्थ’ बाट सम्मानित गरेको थियो ।

त्यस्तै सुनवल नगरपालिकालाई नेपालको पहिलो बालमैत्री स्थानिय पालिका घोषणा अभियानमा साझेदारी भुमिका निर्वाह गर्दै मानव बेचविखनविरुद्ध सचेतना र बालश्रम न्यूनीकरण अभियान एवं बाल अधिकारका क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै सुनवल नगरपालिकाबाट समेत उनी सम्मानित भएका थिए । 

२०१८ मा शाखा अध्यक्षको भुमिकामा रहँदा ‘ग्रीन पोर्जेक्ट, क्लिन मुभमेन्ट’ का साथै ‘एक घर दुई रुख ’ अभियान सञ्चालन गर्दै शाखालाई स्थानीयदेखि राष्ट्रिय स्तरसम्ममा उत्कृष्ट शाखाको रुपमा स्थापित गराउन उनले सक्रिय भुमिका खेलेका थिए । नेपाल जेसीजको ४५ औं राष्ट्रिय महाअधिवेशनमा जनकपुरबाट अत्याधिक मतसहित राष्ट्रिय उपाध्यक्ष पदमा विजयी भएका उनले नेपाल जेसीजको क्षेत्र ‘ग’ मा स्थापित भई कुशलतापूर्वक जेसीज अभियानमा योगदान गरिसकेका छन् ।

सक्रिय नागरिकको लागि सकारात्मक सोचको विकास गर्दै उद्यमशिलताप्रति अभिप्रेरित गर्ने स्वावलम्वी एवं स्वाभिमानी नागरिकको निर्माणमा सक्रिय भुमिका निर्वाह गर्नको लागि राष्ट्रिय कार्यकारिणी पदमा आफ्नो उम्मेदवारी रहेको चापागाईंले बताए । 

त्यस्तै रामनगर जेसीजका संस्थापक अध्यक्ष एवं प्रचारप्रसार समितिका संयोजक डोलराज भण्डारीले शैक्षिक एवं सामाजिक व्यक्तिलाई राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा रामनगर जेसीजले प्रस्तुत गरेको हुँदा सबै जेसी मित्रहरुलाई चापागाईंलाई निर्वाचित गराउन सकारात्मक भुमिका निर्वाह गर्न आग्रह गरेका छन् । सबै जेसीज साथीहरुको माया, ममता एवं विश्वासले जीत हासिल हुनेमा आफू विश्वस्त रहेको समेत भण्डारीले बताए । नेपाल जेसीजको आसन्न निर्वाचन आगामी पौष १ गतेदेखि पौष ४ गतेसम्म जेसीआई भलवारीको आतिथ्यतामा रुपन्देहीको भलवारीमा हुँदैछ ।