
शुक्रवार , श्रावण ९, २०७७
भैरहवा, ९ साउन ।
रुपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सांसद प्रमोद कुमार यादवले जुनसुकै नागरिकलाई पनि सहज रुपमा रगत उपलब्ध गराउनुपर्ने बताएका छन् । उनले रगतकै अभावमा विरामीको ज्यान जान सक्ने भएकोले रगतको आवश्यकता भएको सर्वसाधारणले सहज रुपमा पाउनुपर्नेमा जोड दिए ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा स्वर्ण जयन्ती महोत्सव–२०७७ अन्तर्गत रेडक्रस सोसाइटी बेलहिया उपशाखाको आतिथ्यमा शुक्रबार भैरहवामा आयोजित रेडक्रस रुपन्देही : “हिजो, आज र भोलि” विषयगत अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले यस्तो बताएका हुन् ।
उनले भने, “कतिपय अवस्थामा सर्वसाधारणले सहज रुपमा रगत पाउनुहुँदैन, यो राम्रो होइन, यस विषयमा गम्भिर हुनुपर्छ, मर्चवार र धकधई क्षेत्रबाट आवश्यक रगत उपलब्ध गराउन म रक्त संचार केन्द्रलाई सहयोग गर्छु ।
अझै पनि कतिपय क्षेत्रमा रक्तदान गर्न डराउने अवस्था भएकोले रक्तदानको महत्व बुझाउन रेडक्रसले प्रशिक्षणमुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।
रेडक्रस सोसाइटीका उपशाखाहरु सबै स्थानीय तहमा खोल्नुपर्ने उनले सुझाव दिए । उनले यसै वर्षमा रेडक्रस मर्चवार उपशाखालाई एक थान एम्बुलेन्स उपलब्ध गराउने घोषणा गरे ।
रेडक्रस सोसाइटी रुपन्देही शाखाका सभापति प्रेमलाल उदासले रेडक्रस रुपन्देहीले राष्ट्रियस्तरका कार्यक्रमहरु आयोजना गरिसकेको बताए । उनले जिल्ला जुनियर रेडक्रसको कार्यक्रम पनि राम्रो रहेको बताए ।
रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य प्राध्यापक सुर्दशन प्रसाद नेपालले रेडक्रस अन्य संघ–संस्था भन्दा फरक रहेको बताए । उनले रेडक्रस साझा फुलबारी भएको बताए ।
रेडक्रस सोसाइटी प्रदेश ५ का महासचिव कृष्ण पंगेनीले वर्तमान सरकारले रेडक्रसलाई सम्मानजनक रुपमा हेर्न नसकेको बताए ।
रेडक्रस सोसाइटी रुपन्देहीका कार्यसमिति सदस्य तथा बेलहिया उपशाखा प्रमुख शुशिल गुरुङले रुपन्देही शाखालाई नेपालमा एक नम्बर शाखाको रुपमा चिनाउने गरी काम भइरहेको बताए ।
कार्यक्रममा रेडक्रस सोसाइटी रुपन्देहीका सल्लाहकार विमल बहादुर शाक्यले विगत, वर्तमान र भविष्य : एक चर्चा विषयक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रम संयोजक मन्जु शर्माको स्वागत तथा रेडक्रस सोसाइटी बेलहिया उपशाखा सदस्य देवी न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij