२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

नेपाल साइकल उत्सव टोलीलाई भैरहवामा स्वागत

बिहिवार , कार्तिक २७, २०७७

भैरहवा, २७ कार्तिक ।
कोरोना भाइरस (कोभिड–१९) ले पर्यटन क्षेत्र प्रभावित भएको बेला आन्तरिक पर्यटन प्रवद्र्धनको उद्धेश्यसहित आयोजित नेपाल साइकल उत्सव टोली बिहीबार लुम्बिनीको प्रवेशद्धार भैरहवा आइपुगेको छ ।

टोली बिहान पौने १० बजे लुम्बिनीबाट भैरहवा आइपुगेको साइकल सिटी भैरहवाका अध्यक्ष सुर्य कुमार सारु मगरले बताए । काठमाडौंबाट महाकाली हुँदै एघारौ दिन साइकल टोली यहाँ आइपुगेको हो । भैरहवा पुगेको टोलीलाई साइकल सिटी, भैरहवाले लुम्बिनीगेटमा स्वागत गरेको छ । 

विश्व साइकल यात्री पुष्कर शाहले कोरोना भाइरसको महामारीले विश्वलाई नै आतंकित पारिरहेको बेला विश्व छिट्टै कोरोनाबाट मुक्त होस भन्ने कामना गर्दै साइकल उत्सवको आयोजना गरिएको बताए । 

नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएसन अफ टुर्स् एन्ड ट्राभल एजेन्ट्स् एशोसिएसन (नाटा) र नेपाल पर्वतारोहण संघ (एनएमए)को सहयोगमा भइरहेको तीन साताको यो साइकल यात्रा इलामको अन्तुडाँडामा गएर समापन हुनेछ । पश्चिम महाकालीदेखि पूर्व मेचीसम्म यो साइकल यात्राको दुरी १ हजार ६ सय २४ किलोमिटर रहेको छ ।

विश्व साइकलयात्री पुष्कर शाहको नेतृत्वको साइकल टोलीमा राजेन्द्र सापकोटा, सुभाष केसी, एक्सपान्सन दाहाल, सम्राट पाण्डे, महेन्द्र अधिकारी, हिम गुरुङ, माधव नेपाल, मुक्ति पाण्डे, अशोक सिलवाल लगायत रहेका छन् ।