२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

जेसीज सप्ताह–२०२० को समापन

शनिवार , कार्तिक २९, २०७७

भैरहवा, २९ कार्तिक । 
जेसीआई सिद्धार्थ, नेपाल (सिद्धार्थ जेसीज) को आयोजनामा भएको जेसीज सप्ताह–२०२० को शुक्रबार समापन गरिएको छ ।  जेसीआई सिद्धार्थले गत साउनमा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमको समापन गरेको हो । साउनमा जेसीज सप्ताहको आयोजना गरिए पनि कोरोना महामारीका कारण उक्त समयमा समापन कार्यक्रमको आयोजना गर्न नसकिएकोले अहिले गरिएको जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२० का अध्यक्ष मंगल भण्डारीले बताए ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले कृषिले परिवार नचलेमा कृषि धरासायी हुने बताए । उनले कृषिको नीतिगत सुधारमा लागेको उल्लेख गर्नुहुँदै कृषि टिकाउनका लागि आफू लागेको र यसको परिणाम केही वर्षमा देखिने बताए । उनले जेसीआई सिद्धार्थ–२०२० का अध्यक्ष मंगल भण्डारीले कोभिड–१९ को बेला गरेको कामहरु सराहनीय रहेको बताए ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारी, संविधानसभा सदस्य आदित्य नारायण कशौधन, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपाने, उद्योग व्यापार संगठन रुपन्देहीका उद्योग उपाध्यक्ष रामचन्द्र रेग्मी, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य कृष्ण प्रसाद शर्मा, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष अनुवर हुसेन, जेसीआई सिद्धार्थका निर्वतमान अध्यक्ष तथा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सिनेटर राकेश गुरुङ, सिद्धार्थ जेसीजका पूर्व अध्यक्ष ओम कुमार श्रेष्ठ, लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष नेत्र प्रसाद आचार्य लगायतले बोल्दै कोरोना संक्रमितलाई परिवारका सदस्यले नै अस्पतालसम्म लैजान डराइरहेको बेला जेसीआई सिद्धार्थ वर्ष–२०२० का अध्यक्ष मंगल भण्डारीले आफै नीजि सवारीसाधनमार्फत अस्पतालसम्म लैजाने कार्य सराहनीय रहेको बताए ।

कार्यक्रममा म्याराथुन दौडका विजेताहरुलाई प्रमाणपत्र तथा प्रथम हुनेलाई नगद १० हजार, द्वितीयलाई ५ हजार, तृतीयलाई ३ हजार र सान्त्वनालाई २ हजार पुरस्कार प्रदान गरिएको कार्यक्रम संयोजक ओजश शर्माले बताए ।

त्यस्तै पत्रकार र जेसीजबीच भएको मैत्रीपूर्ण फुटसलका प्रतियोगिताका सहभागिहरुलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको जेसीआई सप्ताह निर्देशक जेसीआई सप्ताह निर्देशक ऋषिराम पाण्डेयले बताए । त्यसै गरी रक्तदान कार्यक्रममा सहभागि रक्तदाताहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको पाण्डेयले जानकारी दिए ।

जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२० का महासचिव दिपक काफ्लेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।