२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

देवदहको कार्यपालिका सदस्यमा एमाले-राप्रपा गठबन्धनबाट आठ सदस्य निर्वाचित

बुधवार , जेठ १८, २०७९

भैरहवा । रुपन्देहीको देवदह नगरपालिकामा कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा नेकपा एमाले र राप्रपाको गठबन्धन विजयी भएको छ। कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा गठबन्धनबाट आठजना सदस्य निर्वाचित भएका छन् ।

स्थानीय तहको निर्वाचनपछि कार्यपालिका सदस्यको लागि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच गठबन्धन भएको थियो । देवदह नगरपालिकाको कार्यपालिकामा २२ जना हुनुपर्ने भएपनि स्थानीय तहको निर्वाचनबाट १४ जना निर्वाचित भइसकेको र बाँकी रहेको ८ जनाको लागि निर्वाचन भएको हो ।

देवदह नगरपालिकामा नेकपा एमालेका ३२ जना, नेपाली कांग्रेसका २१ जना राष्ट्रिय प्रजातन्त्र पार्टीको ९ जना गरी ६२ जना सदस्य निर्वाचित भएका थिए । देवदह नगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित महिला सदस्यबाट ५ जना र दलित र अल्पसंख्यकबाट ३ जना गरी ८ जना छनोट गर्न बाँकी रहेको थियो ।

कार्यपालिका सदस्यको लागि नेकपा एमालेलाई ७ जना र राष्ट्रिय प्रजान्त्र पार्टीलाई १ जना गरी सहमति भएको थियो । नेकपा एमाले र राप्रपाबीच भएको सहमति अनुसार महिला सदस्यमा नेकपा एमालेका गीता भण्डारी, टिकीसरा सुनार, रुपाकुमारी ढुंगाना, लक्ष्मी विक, शान्ता भट्टराई कार्यपालिका सदस्यमा निर्वाचित भए ।

दलित तथा अल्पसंख्यकतर्फ एमालेका कुमार दमाई, गोविन्द पासी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ओमबहादुर परियार निर्वाचित भएको निर्वाचन अधिकृत विष्णुप्रसाद आचार्यले जानकारी दिए ।