
शनिवार , जेठ २१, २०७९
बुटवल, २१ जेठ ।
बुटवलका दुई बिरामीहरुलाई सहयोग गर्ने उद्देश्यले एकदिने फुटसल प्रतियोगिता सम्पन्न भएको छ । क्यान्सर बिरामी सुमेर शाक्य र ८ वर्षिय मृगौला रोगसम्बन्धि बिरामी सगुन केशरीको सहयोगार्थ मोनालिसा फुटसल एरिनामा शनिबार फण्ड राईसिङ फुटसल प्रतियोगिता सम्पन्न भएको हो ।
तिलोत्तमा नगरपालिकास्थित मोनालिसा फुटसल एरिनामा शनिबार भएको फण्ड राईसिङ फुटसल प्रतियोगिता २०७९ को उपाधि किलान्चोक क्लबले हात पारेका छन् । फाइनल खेलमा मर्निङ फुटसल गु्रपलाई ८–४ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । किलान्चोकको जितमा गणेश रायमाझीले एक्लै ५ गोल गरेका थिए ।
कार्यक्रम संयोजक संजय प्रकाश श्रेष्ठले रुपन्देहीका विभिन्न क्षेत्रमा कार्यरत तथा मोनालिसा फुटसल एरिनामा नियमित अभ्यास गर्ने टीमहरुबीच प्रतियोगिता गरिएको बताए ।
कार्यक्रमको लुम्बिनी प्रदेश खेलुुकद विकास परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले बल हस्तान्तरण गरी उद्घाटन गर्दै खेलकुदलाई जोडेर सामाजिक भावनाका साथ प्रतियोगिता हुनु महत्वपूर्ण भएको बताए । प्रदेश सरकार खेल पूर्वाधार विकाससंगै खेलाडी उत्पादनलाई जोड दिने गरी प्रतियोगिता आयोजना गर्न बजेट बिनियोजन गर्ने उनले बताए।
यसैबीच प्रतियोगिताका बिजेता, उपविजेता टीमलाई पृथ्वीनारायण शाह स्पोर्ट्स फाउन्डेसनका अध्यक्ष निरजप्रताप खाँण, वरिष्ठ न्यूरो सर्जन डा केआई सिह क्षेत्री, बुटवल ११ क्रिकेट क्लबका अध्यक्ष अनिल सेञ्चुरी, रुपन्देही क्रिकेट संघका सदस्य पुनित पोखरेलले पुरस्कार बितरण गरेका थिए।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij