
शुक्रवार , मंसिर ५, २०७७
भैरहवा, ५ मंसिर ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै छठपर्व मनाउन आग्रह गरेका छन् । उनले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै दैनिकी अघि बढाउँदा कोरोनाबाट आफू र अरुलाई पनि जोगाउन सकिने बताए ।
शुक्रबार छठपर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले कुनै क्षेत्र र समुदाय विशेषको छठ सबैको साझा पर्व बनेको बताए । यो पर्वले समाजलाई एकाकार भई अघि सकारात्मक बल प्रदान गरेको उनको भनाइ छ ।
‘नेपाल भौगोलिक मात्रै नभई सांस्कृतिक विविधतायुक्त मुलुक हो । विभिन्न जाति र समुदायले मनाउने पर्व हाम्रा अमूल्य निधि हुन् । विभिन्न समुदायले मनाउने पर्व र संस्कृतिले विविधतायुक्त समाजलाई एकताको मालामा बाँध्न सम्भव भएको छ,’ शुभकामना सन्देशमा भनिएको छ ।
समाजमा मनाइने पर्व र संस्कृतिले एकता, भातृत्व,सहकार्य र मेलमिलापको वातावरण बनाइरहेको उनले बताए ।
‘कुनै समुदाय विशेषले मनाउने पर्व अब कुनै समुदाय विशेषका मात्रै रहेनन् । कुनै समुदाय विशेषले महत्वका साथ मनाउने पर्व अहिले सबै नेपालीको साझा बन्दै गएका छन् । समुदाय विशेषका पर्व सबैको साझा बन्दै जानु विविधतायुक्त समाजका लागि सुखद मान्नुपर्छ,‘ उनले भने ।
छठले समाजमा भातृत्वको वातावरण बनाउन मात्रै नभएर सिंगो प्रकृतिलाई माया गर्दै सहकार्य गर्न सन्देश दिएको मुख्यमन्त्री पोखरेलको भनाइ छ ।
‘सूर्य, नदी, पोखरी—तलाउ जस्ता प्रकृतिका अमूल्य उपहार छठ पर्वमा प्रयोग हुन्छन् । त्यसै गरी,यो पर्वमा प्रयोग गरिने कृषि उत्पादन ग्रामीण अर्थतन्त्रका एउटा आधार हुन् । मानिस र प्रकृतिबीचको सन्तुलित सम्बन्धले मात्रै उज्यालो भविष्यको आशा गर्न सकिन्छ । मानिस र प्रकृतिबीचको असन्तुलनले मानिसको मात्रै नभएर अन्य जीवजन्तुको समेत भविष्य अनिश्चित हुन्छ, शुभकामना सन्देशमा उल्लेख छ ।’
प्रकृतिका अमूल्य उपहार मानिससहित सबै प्राणी र अहिलेका लागि मात्रै नभएर भविष्यका लागि पनि भएको मुख्यमन्त्री पोखरेलको भनाइ छ । छठ पर्वले दिन खोजेको यो सन्देशलाई आत्मसात गर्दै अघि बढ्न उनको आग्रह छ ।
कोभिड—१९ को जोखिमबाट नागरिकलाई जोगाउन सरकारको पहलकदमीमा सबैको सार्थक सहयोगको खाँचो रहेको पोखरेलले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij