२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

‘समाज रुपान्तरणका लागि सामूहिक प्रयास आवश्यक’

शनिवार , मंसिर ६, २०७७

भैरहवा, ६ मंसिर ।

समाजको रुपान्तरणमा स्थानीय तह, सुरक्षा निकाय, मिडिया तथा सामाजिक संघ–संस्थाको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । उनीहरुले समाज रुपान्तरण एक्लो प्रयासले मात्र नहुने भएकोले सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिए ।

विश्व टेलिभिजन दिवसको अवसरमा रोट्रयाक्ट क्लब अफ भैरहवाले शनिबार भैरहवामा आयोजना गरेको सामाजिक रुपान्तरणमा स्थानीय तह, सुरक्षा निकाय, मिडिया र सामाजिक संघ–संस्थाको भूमिका विषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्ने सहभागीहरुले समाज रुपान्तरणका लागि राज्यमा बस्ने नेतृत्व पनि जिम्मेवार हुनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले सडक÷नाला बन्नु मात्र विकास नभएको बताए । उनले शिक्षा तथा स्वास्थ्यलाई प्राथमिकता दिएर यस क्षेत्रका सामाजिक संघ–संस्थासंग हातेमालो गरेर नगरपालिकाले कार्यक्रम सञ्चालन गर्ने बताए ।

‘हामीले यहाँका सामाजिक संघ–संस्थालाई समन्वयका लागि पटकपटक आह्वान गरेका छौं, सामाजिक विकासतर्फ नगरपालिकाको ध्यान गएको छ, उनले भने ।’ पछिल्लो समय युवाहरु लागूऔषध दुव्र्यसनीमा फसेकोप्रति अभिभावकहरु चिन्तित भएको उनको भनाइ थियो । कोभिड–१९ को समयमा मिडिया, सुरक्षा निकाय तथा सामाजिक संघ–संस्थाले अतुलनीय योगदान पु¥याएको नगरप्रमुख अधिकारीले बताए ।

त्यस्तै रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले सामाजिक रुपान्तरणमा सबै रुपान्तरणको जग भएको बताए । उनले समाजको रुपान्तरणका लागि विसंगति हटाउनुपर्ने बताए । मिडियाले सकारात्मक कुराहरुलाई सम्प्रेषण गर्नुका साथै विसंगतिविरुद्ध कलम चलाउनुपर्ने सहायक प्रजिअ पौडलको भनाइ थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रवीण पोखरेलले ठूलो घर तथा चौडा सडक मात्र विकास नभएको बताए । उनले सकारात्मक सोचका साथ अगाडी बढ्नुपर्नेमा जोड दिए ।

उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले नीजि क्षेत्रले पनि सामाजिक संघ–संस्थाकै रुपमा काम गरिरहेको बताए । उनले समाजलाई उत्प्रेरित गर्न मिडियाको ठूलो भूमिका रहेको बताए ।

राष्ट्रिय समाचार समिति (रासस)का पूर्व अध्यक्ष तथा दैनिकपत्र दैनिकका प्रधान सम्पादक बालकृष्ण चापागाईले संविधान बनाएर मात्र नहुने भएकोले यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । उनले समानताको कुरा भाषणमा मात्र सीमित भएको बताए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले स्थानीय टेलिभिजनले स्थानीय मुद्दा उठाएको बताए । उनले विकासमा प्रतिष्पर्धा गर्ने परिस्थितिको सिर्जना स्थानीय मिडियाले गरेको बताए ।

पत्रकार महासंघ रुपन्देहीका सह–सचिव कमल रायमाझीले स्थानीय सरकारलाई संविधानले धेरै अधिकार दिएको बताए । उनले पिछडिएको क्षेत्रको नाममा टाठाबाठाले पनि अवसर पाएकोले यसतर्फ सचेत हुनुपर्ने बताए ।

लुम्बिनी प्रेस क्लबकी महासचिव सम्झना शर्माले कानूनको कार्यान्वयनको आवश्यकता रहेकोमा जोड दिइन् । उनले दिगो विकासतर्फ ध्यान जानुपर्ने बताइन् ।

रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष हिरा बहादुर शाहले सुरक्षा निकाय, मिडिया, सामाजिक संघ–संस्थाबीच समन्वयको आवश्यकता रहेको बताए । उनले समाज रुपान्तरणमा मिडियाको भूमिका महत्वपूर्ण रहेको चर्चा गरे ।

रोटरी क्लब अफ भैरहवाका अध्यक्ष शिवहरि शर्माले विभिन्न पक्षबीच समन्वयको अभाव रहेको बताए ।

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष बाबुराम खनाल (अतित)ले मिडियाले विकास निर्माणका विषयलाई प्राथमिकता दिनुपर्ने बताए ।

रोट्रयाक्ट क्लब अफ भैरहवा वर्ष २०२०÷२१ का अध्यक्ष सरिता रानाको अध्यक्षता, द्वितीय उपाध्यक्ष अंकित पौडेलको स्वागत तथा क्लबका पूर्व अध्यक्ष एवं लुम्बिनी प्रेस क्लबका सचिव माधब न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

क्लबका संस्थापक अध्यक्ष तथा तथा रोटरी इन्टरनेशनल ३२९२ नेपाल एण्ड भुटान जोन–११ का तत्कालीन जेडआर आर हालका एडीटी प्रकाश शर्माले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा समाज रुपान्तरणमा मिडिया, स्थानीय तह, सुरक्षा निकाय र सामाजिक संघ–संस्थाको भूमिका विषयमा लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष तथा लुम्बिनीखबर पत्रिकाका सम्पादक नरेश के.सी.ले कार्यपत्र प्रस्तुत गरेका थिए ।