२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगितामा रेसुङ्गा क्याम्पस दोस्रो

आइतवार , मंसिर ७, २०७७

गुल्मी, ७ मंसिर ।
लुम्बिनी प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगितामा गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पस दोस्रो भएको छ । सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले कार्यक्रम ‘हेल्लो सासंद’ मा आयोजना गरेको प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगितामा रेसुङ्गा बहुमुखी क्याम्पसले ६० अंक ल्याएर दोस्रो स्थान प्राप्त गरेको हो । 

क्याम्पसका तर्फबाट स्नातक चौथो वर्षमा अध्ययनरत हुमाकान्त पोखरेल र लक्ष्मी अर्याल तथा स्नातक तेस्रो वर्षमा अध्ययनरत नारायण भुसालले सहभागिता जनाएका थिए । 

त्यस्तै समाजशास्त्र शिक्षकबाट सहायक क्याम्पस प्रमुख रामप्रसाद खनालले सहभागिता जनाएका थिए । प्रतियोगीलाई पहिलो चरणमा र्‍यापिड राउण्ड अन्तर्गत १ मिनेटमा अधिक्तम ९ प्रश्न सोधिएको थियो । त्यस्तै दोस्रो चरणमा लुम्बिनी प्रदेशसभाको गठन, राजनीतिक दलको सहभागिता र अभ्यासका बारेमा एक/एक वटा प्रश्न सोधिएको थियो । कार्यक्रममा ७० अंक ल्याएर प्युठानको प्युठान क्याम्पस प्रथम तथा ५५ अंक ल्याएर कपिलवस्तुको सिद्धार्थ क्याम्पस तेस्रो भएको छ । 

हाजिरीजवाफमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश : ५ हजार, ३ हजार र २ हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिने सीआईएनका म्यानेजर दीपक आचार्यले जानकारी दिए ।

जुममार्फत भएको हाजिरीजवाफ प्रतियोगितामा लुम्बिनी प्रदेशका ११ जिल्लाको सहभागिता थियो । प्रतियोगी, क्याम्पस प्रमुख, प्राध्यापक, विद्यार्थी, पत्रकारलगायत गरी कार्यम्रममा ९० जनाभन्दा धेरैको सहभागिता थियो ।

कार्यक्रमको सुरुमा फ्रिडम फोरमका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी तारानाथ दाहालले ‘खुला संसदको अभ्यास र युवाको भूमिका’ का बारेमा विचार राखेका थिए ।