२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

‘फ्रन्टलाईनर’लाई रेडक्रसको प्रशिक्षण

आइतवार , मंसिर ७, २०७७

बुटवल ७ मंसिर । 
विपद्को समयमा अग्रमोर्चामा खट्ने स्वास्थ्यकर्मीहरुलाई नेपाल रेडक्रस सोसाइटीले विशेष खालको प्रशिक्षण थालेको छ । सबै प्रदेशमा हुने यो तालिमले उनीहरुलाई संकटका बेला हुने मनोविज्ञानलाई कसरी सही कार्य सम्पदानमा लगाने भन्ने जानकारी प्रदान हुनेछ । 

लुम्बिनी प्रदेश अन्र्तगतका १२ जिल्लाका स्वास्थ्य कार्यालयका फोकल पर्सनहरुलाई प्रशिक्षणमा सहभागि गराइएको हो । खास गरी विपद्का बेला यौन तथा प्रजनन्संग सम्बन्धित विषयहरु कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयलाई प्राथमिकतामा राखेर प्रशिक्षण चलाइएको छ । विपद्का बेला बनाउने बनाइने योजना तर्जुमाका लागि यस्ता विषयहरुको संवेदनशिलतालाई तालिमका कारण थप महत्वपूर्ण बनाउने अपेक्षा गरिएको आयोजक संस्थाले जनाएको छ । 

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र काठमाडौंका प्रशिक्षकहरुबाट संचालन भएको ४ दिन तालिमको आइतबार बुटवलमा शुभारम्भ गर्दै नेपाल रेडक्रसका केन्द्रिय महामन्त्री पिताम्बर अर्यालले संकटमा खटिने व्यक्तिहरुलाई अतिरिक्त प्रशिक्षणका लागि तालिम उपयोगी हुने बताए । उनले विपद्का बेलामा पनि धेरै कुराहरुको नजरअन्दाज गरिने भएकोले प्रशिक्षणका माध्यमबाट त्यस्ता विषयको महत्व बुझाउने प्रयास गरेको बताए । 

कोरोना महामारीका बेला पनि रेडक्रसले फ्रन्टलाईनरकै रुपमा रहेर कार्य गरिएको बताउँदै महामन्त्री अर्यालले रगत व्यवस्थापन, प्लाज्मा व्यवस्थापनदेखि स्वास्थ्य सामाग्री व्यवस्थापनमा खटिरहेको बताए । 

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य बाबुराम भट्टराई, लुम्बिनी प्रदेश संयोजक शम्भु पोख्रेल, प्रदेशका महासचिव कृष्ण पंगेनी, प्रशिक्षक डा. ईश्वर उपाध्याय, सदिन अधिकारी, नागेन्द्र अर्याल लगायतले तालिमको महत्वका विषयमा चर्चा गरेका थिए । 

स्वास्थ्य कार्यालय, सामाजिक विकास मन्त्रालयका गरी २० जनाको सहभागिता रहेको तालिममा विभिन्न दातृ निकायको प्राविधिक सहयोग रहेको छ ।