२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

वर्तमान सरकार प्रहरी प्रशासन र संवैधानिक निकायलाई कब्जा गर्न खोज्दै– सहमहामन्त्री महत

आइतवार , मंसिर ७, २०७७

दाङ, ७ मंसिर । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले वर्तमान सरकार प्रहरी प्रशासन र संवैधानिक निकायलाई कब्जामा लिएर आगामी निर्वाचन पनि जित्ने दाउमा लागेको आरोप लगाएका छन् ।

दाङको घोराहीमा आज नेपाली कांग्रेसले आयोजना गरेका भेटघाट कार्यक्रममा सहमहामन्त्री महतले नेकपाको सरकार तीन वटै प्रमख अंगलाई आफ्नो नियन्त्रणमा लिएर आगामी निर्वाचन आफ्नो पक्षमा पार्ने खेलमा लागेको बताएका हुन् ।

यस्तै उनले बहुमत प्राप्त नेकपाको सरकार नागरिकको सुरक्षामा खटिनु पर्ने बेलामा आफ्नै आफ्नै भविष्य के हुने भन्ने अवस्थामा पुगेकाले अनावश्यक खिचातानीमा फसेको बताए । कोरोना महामारीको कारण देखाएर राज्य कोषको पूँजीका ब्रह्मलुट मचाएको बताउँदै हालसम्म कोरोना रोकथाममा भएको काम निरर्थक रहेको टिप्पणी गरे । प्रतिपक्षी कांग्रेसले कोरोना रोकथामका लागि शुरुवाती चरणमा सघााउने बताई रहँदा सरकारले बेवास्ता गर्दा अहिले यो स्थिती निम्तिएको उनको जिकिर थियो ।

कोरोना नियन्त्रणका नाममा हालसम्म २० अर्ब रुपैयाँ खर्च भएको बताएको सरकारले यसको खर्च विवरणको आधिकारिक पुष्ट्याईँ गर्न नसकेको बताउँदै उनले संसद अधिवेशन नचलेको लाभ लिई रहेको पनि बताए । नेपाली कांग्रेसले गठन गरेको कोरोना रोकथाम तथा यसको प्रभाव अनुगमन समिति संयोजक समेत रहेका नेता महतले देशभरका विभिन्न जिल्लामा कोरोना रोकथाम र उपचारमा भएका प्रयास र गर्नु पर्ने कामका बारेमा सरकारलाई सुझावसमेत दिएको बताउँदै उक्त सुझाव अक्षरस पालना गरी नागरिकको जीउधनको रक्षामा गम्भीर बन्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह पनि गरेका छन् ।

फरक प्रसंगमा सहमहामन्त्री महतले नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी फागुनमा हुनै नसक्ने बताएका छन् । अहिलेको अवस्थामा पार्टीभित्रका सबैलाई सहमतिमा ल्याएर लैजाने पार्टी सभापति शेरबहादुर देउवाको सोँचका कारण पनि निर्णय प्रकृयामा ढिलाई भएको बताए । पार्टीभित्रका विभिन्न संगठन तथा कमिटिमा महाधिवेशनको संघारमा सभापतिले नियुक्ति दिनु सान्दर्भिक रहेको बताउँदै वर्षौ वर्ष पार्टीमा रहेर काम गरेकालाई एक पटक पदमा बस्ने मौका पाउनुले पनि पार्टीलाई फाइदा हुने उनको भनाई थियो । यस्तै, उनले महाधिवेशन सम्पन्न गर्नका लागि अहिले बढी विवादका रुपमा कृयाशील सदस्यता वितरणको काम रहेको बताएका छन् । देशभरका ७७ वटै जिल्लाबाट जिल्ला सभापतिलाई मंसीर मसान्तसम्ममा कृयाशील सदस्यताको विवरण केन्द्रमा पठाउन भनिएकोमा व्यवहारिक रुपमा यो माघसम्म जान सक्ने उनको अनुमान छ ।

आगामी भदौसम्मा जसरी पनि महाधिवेशन गरी सक्नु पर्ने विधानमा व्यवस्था भएकाले त्यो समयभन्दा अगावै सम्पन्न गर्ने गरी काम थाल्न जिल्ला मातहतका सबै कार्यकर्तालाई उनले निर्देशन पनि दिएका छन् ।