२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

नगरपालिकामा अख्तियारको छापा : कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारसँग सम्बन्धित सबै फाइल नियन्त्रणमा

मंगलवार , मंसिर ९, २०७७

सप्तरी, ९ मंसिर । 
सप्तरी जिल्लाको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको समाचार विभिन्न सञ्चार माध्यममा सार्वजनिक भएसंगै चर्को आलोचना हुन थालेपछि आयोगको इटहरी कार्यालयले नगरपालिकामा छापा मारेको हो । छापा मारेसँगै अख्तियारले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारसँग सम्बन्धित सबै फाइल नियन्त्रणमा लिएको छ । 

सो नगरपालिकाले कात्तिक २६ गते कोरोना रोकथाम तथा नियन्त्रणमा रु दुई करोड २१ लाख ३४ हजार खर्च भएको विवरण सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएको सो खर्च विवरणमा लाइफ ब्वाइ साबुनको प्रतिगोटा मूल्य रु तीन हजार ८३१.४२ मा खरिद गरिएको उल्लेख भएपछि चर्को आलोचना भएको थियो । कोरोना रोकथाम तथा नियन्त्रणका नाममा नगरपालिकाले चरम आर्थिक अनियमितता गरेको भन्दै स्थानीयवासीले सूचना उपलब्ध गराउन नगरपालिकामा निवेदन नै दिएका थिए ।

नगरपालिकाले पुनः मङ्सिर ३ गते पत्रकार सम्मेलन गरी स्यानिटाइजर, साबुन, झुल, म्याट्रेस, मास्क, पञ्जा लगायतका सामग्री बजार मूल्य अनुसार नै खरिद गरिएको स्पष्टीकरण दिएको थियो । शीर्षक अनुसार खर्च गरी बिल भर्पाइ राखिएको र सार्वजनिक गरिएको आयव्यय हिसाबको ‘प्रिन्ट मिस्टेक’ भएर सञ्चार माध्यममा भ्रामक समाचार पुगेको नगरप्रमुख आतेश कुमार सिंह यादवले स्पष्ट पार्ने प्रयास गर्नुभएको थियो । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले समेत खर्च विवरणमा ‘प्रिन्ट मिस्टेक’ भएकाले खर्च विवरण बढी देखिएको बताउँदै रु एक करोड २७ लाख २९ हजार ४२९ कोरोना शीर्षकमा खर्च भएको जानकारी दिए । बोदे बर्साइन नगरपालिका कार्यालयले २०७६ चैत २२ गते ९५ वटा साबुन रु तीन लाख ६३ हजार ९८५ लागतमा खरिद गरिएको प्रमाणित खर्च विवरणमा देखाएको थियो । टाइप गर्दा ९५ कार्टुन लेख्नुपर्नेमा कर्मचारीको कमजोरीले ९५ वटा भएको नगरप्रमुख यादवको जिकिर छ ।

सार्वजनिक गरिएको हिसाबको अर्को शीर्षकमा भने साबुनको प्रतिगोटा रु २९९.९६ पैसाको दरले खरिद गरिएको उल्लेख छ । अर्को शीर्षकमा एक हजार ४४० वटा लाइफब्वाइ साबुनलाई रु चार लाख ३१ हजार ९५५ मा खरिद गरिएको हिसाब देखाइएको छ ।