२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

आम मतदाता र कार्यकर्ताको भावनाअनुरुप शिर्ष नेतृत्व चल्न सकेन : अर्थमन्त्री पौडेल

मंगलवार , मंसिर ९, २०७७

बुटवल, ९ मंसिर । 
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम मतदाता र कार्यकर्ताको भावना अनुरुप शिर्ष नेतृत्व चल्न नसकेको आरोप लगाएका छन् ।

प्रेस संगठन नेपाल रुपन्देहीले मंगलबार बुटवलमा आयोेजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पौडेलले सत्तारुढ नेकपाभित्रको आन्तरिक समस्या समाधानका लागि सबै नेता कार्यकर्तालाई मर्यादामा रहन आग्रह गरे । पार्टीका नेताहरु पार्टीको मर्यादा बाहिर गएका कारण नेकपामा समस्या उत्पन्न भएको दावी गर्दै पौडेलले नेताहरु मर्यादा बाहिर जाँदा पार्टीमा संकट उत्पन्न भएको आरोप लगाए ।

पछिल्लो पटक अर्थमन्त्री नियुक्त भएपछि पहिलो पटक गृहनगर बुटवलमा आएका पौडेलले नेताहरु मर्यादा बाहिर जादा पार्टीको आन्तरिक जीवनमा समस्या उत्पन्न भएको त्यसले पार्टीका तमाम कार्यकर्ताहरुलाई चिन्तित बनाएको बताए । उनले मन्त्री पदसँग प्रदेशको राजधानी साटेको भन्ने संचारकर्मीहरुको जिज्ञासामा उक्त कुरा गलत भएको टिप्पणी गरे । उनले भने– मन्त्री प्रधानमन्त्रीले बनाउने हो, राजधानी प्रदेशसभाले बनाउने हो । त्यसैले यी कुराबीच कुनै सत्यता नरहेको उनले जिकिर गरे । 

सरकारको भुमिकाको बारेमा चर्चा गर्दै उनले जनताका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री पौडेलले कोभिड–१९ का कारण राष्ट्रिय अर्थतन्त्रमा पर्न गएको प्रभावलाई व्यवस्थापन गर्ने सरकारको पहिलो प्राथमिकता रहेको बताए । नेता पौडेल ३ दिनसम्म जिल्लामा आयोजना विभिन्न कार्यक्रममा सहभागी हुने जनाइएको छ । प्रदेश राजधानीको विषयमा महासचिवको भुमिकाप्रति असन्तुष्ट पार्टी कार्यकर्ता तथा राजीनामा दिएर बसेका उद्योगी व्यवसायीसंग भेटघाट कार्यक्रम रहेको नेकपा रुपन्देहीले जनाएको छ ।