२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सबै मिलेर उद्योग तथा पर्यटन क्षेत्रको विकास गर्नुपर्छ : मन्त्री गिरी

बुधवार , मंसिर १०, २०७७

भैरहवा, १० मंसिर । 
लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले सबै मिलेर उद्योग तथा पर्यटन क्षेत्रको विकास गर्नुपर्ने बताए । उनले सबै क्षेत्रलाई विकास गर्ने गरी अगाडी बढ्नुपर्नेमा जोड दिए ।

छैठौं उद्योग दिवस–२०७७ को अवसर पारेर उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय भैरहवा, रुपन्देहीको आयोजना तथा घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीको सह–आयोजनामा मंगलबार भैरहवामा भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गिरीले उद्योगको विकासका लागि नीजि क्षेत्रले अगुवाइ गर्नुपर्ने बताए । उनले कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको असरले सबैलाई मारमा पारेको बताए ।

‘उद्योग, पर्यटन क्षेत्रमा लगानीको सुनिश्चतता गर्नुका साथै व्यापार घाटा पनि कम गर्नुपर्छ, रोजगार समेत सिर्जना गर्नुपर्छ, उनले भने ।’ सरकार गठन भइसकेपछि आशालाग्दो परिस्थिति भए पनि कोभिड–१९ का कारण समस्या उत्पन्न भएको बताए । 
‘अधिकाशं आर्थिक सूचकहरु उकालो लाग्दै गएको थियो, तर महामारीको रुपमा कोरोना भाइरसको संक्रमण फैलियो, महामारीको व्यवस्थापन गर्न चुनौती थपियो, मन्त्री गिरीले भने ।’ महामारीबाट नागरिकको ज्यान जोगाउने कुरा प्रमुख भएकोले उद्योग, व्यवसाय, कल–कारखाना बन्द गरेर लकडाउन गरिएकोले अर्थतन्त्रमा समस्या आएको उनको भनाइ थियो ।

विस्थापित भएका उद्योगलाई स्थापित गर्न तथा नयाँ उद्योग सञ्चालनका लागि १० करोडको कोष स्थापना गरिएको उनले बताए । उद्योगीलाई ब्याजमा अनुदान दिने गरी सरकार अगाडी बढेको मन्त्री गिरीले बताए ।

उद्योगमा उत्पादित मालवस्तु विक्री भएन भन्ने कुरा आएकोले यस विषयमा प्रदेश सरकार छलफल र सहयोग गर्न तयार भएको उनले बताए । लुम्बिनी प्रदेशमा करिब १ लाख जनाको रोजगारी गुमेको र जसमध्ये आधा स्वदेशी रहेको उनले बताए । ‘रोजगारीको सन्दर्भमा उद्योग व्यवसायमा लागेका विस्थापितलाई स्थापित गर्न र विदेशबाट स्वदेश फर्किएकालाई विदेश जानबाट रोक्न विशेष प्याकेज निर्माण गरेका छौं, उनले भने ।’ प्रदेशमा रोजगारीका समस्याहरुको सहजीकरण गर्ने उद्देश्यले लुम्बिनी प्रदेश योजना आयोगले रोजगार पोर्टल सञ्चालनमा ल्याएकोे उनले बताए ।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले मुलुक धैरै वर्ष समस्यामा रुमलिएको बताए । उनले सरकारले सबै क्षेत्रलाई व्यवस्थित गर्नेे क्रममा रहेको बताए । मुलुकलाई समृद्धितर्फ लैजानुपर्नेमा उनले जोड दिए ।

आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत मुक्तिराम आचार्यले  पछिल्लो समय उद्योग भन्दा व्यापारमा लगानी बढेको बताए । उनले उद्योगको विकास बिना मुलुकलाई समृद्ध बनाउन नसकिने बताए । नेपाल उद्योग परिसंघका अध्यक्ष एजाज आलमले उद्योग सञ्चालनको वातावरण बनाउनुपर्र्नेे बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष नेत्र प्रसाद पाठकले उद्योग क्षेत्रमा धेरै समस्या रहेको बताए । उनले मुलुकको विकासको लागि उद्योग फस्टाउनुपर्ने बताए ।

घरेलु तथा साना उद्योग महासंघकी केन्द्रीय सदस्य ज्ञानु पौड्यालले प्रविधिको प्रयोगमार्फत बजारीकरण गर्न सकिने बताइन् । उनले उद्योगमैत्री नीतिको आवश्यकता रहेकोमा जोड दिइन् ।

रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहराले नेपालमा उद्योग व्यवसाय सञ्चालन गर्न कठिन रहेको बताए । उनले उद्योगको समस्या समाधान हुन नसकेको बताए । 

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपानेले उपभोक्तको क्रय शक्ति कम हुँदै जाँदा उत्पादन बढी भए पनि त्यसले बजार पाउन नसकेको बताए । उनले श्रमिकलाई उद्योगले रोजगारी दिएको बताए ।

उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले जनयुद्ध, जनआन्दोलन र नाकाबन्दीले नपारेको असर कोभिड–१९ ले पारेको बताए । उनले उद्योगीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने बताए ।

सिद्धार्थ होटल एशोसिएशन (सान)का अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले सरकारले मौद्रिक नीति ल्याए पनि नीति अनुसार काम हुन नसकेको बताए । उनले लकडाउनको अवधिमा होटल सञ्चालन गर्न नसकिएको र विद्युत महसुल बुझाउन नसकिएकोले विद्युतको डिमान्ड चार्ज तिर्न नसकिने बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यकारी सचिव आनन्द खनालले उद्योग व्यवसाय धरासायी बन्दै गएको बताए । उनले रोजगारी गुमाएका श्रमिकहरुलाई रोजगारी दिनेतर्फ सरकारको ध्यान जानुपर्ने बताए । 

उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय भैरहवाका निर्देशक यम बहादुर कुंवरको अध्यक्षतामा भएको कार्यक्रममा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान बुटवलका प्रमुख मुकुन्द ज्ञवालीले कोभिड–१९ को आर्थिक क्षेत्रमा परेको प्रभाव तथा अर्थतन्त्र पुर्नउत्थानका लागि गरिनुपर्ने पहलको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।