
बिहिवार , मंसिर ११, २०७७
परासी, ११ मंसिर ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले देशमा व्यक्तित्व बहसले राजनीतिक तथा बैचारिक बहस शुन्यमा झरेकोे बताएका छन् । देश निर्माणमा राजनीतिक तथा बैचारिक बहस महत्वपूर्ण योगदान गर्छ तर राजनितिक दलमा गुटगत तथा व्यक्तित्व बहसले राजनीतिक एवं वैचारिक बहस शुन्यमा झरेको मन्त्री त्रिपाठीले बताए ।
बुधबार नवलपरासीमा राजनीतिक स्वतन्त्र समुहले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले अब स्वतन्त्र राजनीतिक समुह संगठित हँुदै राजनीतिक दलको रुपमा अगाडी बढने जिकिर गरेका छन् ।
स्वतन्त्र राजनीतिक समुहका जिल्ला संयोजक राधेरमण पाण्डेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले अब समुहलाई दलको रुपमा दर्ता गराई संघीय लोकतान्त्रिक गणतन्त्रलाई मुल लक्ष्य लिई देशमा राजनीतिक तथा वैचारिक बहस सुरु गर्ने बताए ।
उनले भने, ‘यस पार्टीले किसानहरुलाई केन्द्रविन्दु बनाई अगाडी बढने र समाजमा देखिने सबै खालको भेदभावलाई अन्त्य गर्न र आर्थिक अनुशासनलाई महत्व दिदै राष्ट्रियस्तरमा यस समुहले काम गर्छ ।
स्वतन्त्र राजनीतिक समुहका राष्ट्रिय संयोजक समेत रहेको मन्त्री त्रिपाठीले समुहको अधिकांश गृहकार्यहरु र दस्तावेज निर्माण भइरहेको बताए । मन्त्री त्रिपाठीले भने, ‘यहाँका राजनीतिक दलहरुले भौगोलिक पुर्नसंरचनामा व्यापक ध्यान दिए तर राज्य पुर्न संरचनामा ध्यान नदिएकाले देश समृद्धिको बाटामो गति लिन सकेन ।
निजामति सेवा र यसको वितरण प्रक्रिया त्रुटीपुर्ण रहेकाले छिटै यसको ऐन परिमार्जन गरेर सुधार गर्ने बताए । नेकपा विभाजन भने देशको सबै प्रणाली र संविधानको मर्म नै ध्वस्त हुने भन्दै त्रिपाठीले नेकपा विभाजन नहुने पनि विश्वास व्यक्त गरे । सम्मेलनमा समुहका अगुवा कार्यकर्ताहरुको पनि उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij