२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

खेलकुदलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्छ : सदस्य सचिव भट्टराई

आइतवार , श्रावण १, २०७९

बुटवल, १ साउन ।
रुपन्देही जिल्ला खेलकुद विकास समितिमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई स्वागत तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले शुक्रबार एक समारोहकाबीच नवनिर्वाचित अध्यक्ष भुपेन्द्र बहादुर थापा (हरि), पदाधिकारी तथा सदस्यहरुलाई सपथ खुवाएका छन । समितिको उपाध्यक्षमा जय बहादुर सुनुवार, कोषाध्यक्ष परागदास गोर्खाली, सदस्यमा पशुपति उपाध्याय, राम बहादुर थापा, अर्जुन क्षेत्री, रमेश थापा, राधिका चौधरी र रिता पाण्डे खत्री चयन भएका छन् । 

समितिका नवनिर्वाचित अध्यक्ष भुपेन्द्र बहादुर थापा क्षेत्री (हरि) ले खेलकुदको विकासमा सम्पूर्ण क्षेत्रलाई हातेमालो गरेर अघि बढ्ने बताए । पुल तथा स्नुकर संघ, फुटबल संघ लगायत धेरै खेलमा आबद्ध हुँदै समितिको नेतृत्वमा आएको भन्दै उनले सबै खेललाई साझा रुपमा लिएर विकास गर्ने उनले बताए । खेलकुद बुझेर आएका टिम भएकोले पनि कार्यालयदेखि खेल क्षेत्रको विकासमा समेत परिवर्तन ल्याउने उनले प्रतिवद्घता व्यक्त गरे । उनले कुनै पनि क्षेत्रमा नेतृत्व सक्षम नभए सफलता नमिल्ने भन्दै उनले योजना र कार्यक्रमलाई व्यवस्थित बनाएर लैजाने बताए । 

कार्यक्रममा परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले लुम्बिनी प्रदेश खेल पर्यटनको सम्भावना बोकेको क्षेत्र भएको भन्दै बताए । नीतिगत र ऐन कानुनमा रहेर जिल्लालाई सहयोग गर्ने उनले प्रतिवद्घता जनाए । खेलकुदलाई हेर्ने दृष्टिकोण अझै पनि पुरानै शैली र ढर्राबाट हेरिएको उनले दुःखेसो गरे । खेल वर्तमान अवस्थामा पर्यटनको महत्वपुर्ण पाटो भएको भन्दै उनले साहसिक पर्यटनको रुपमा परिचय बनाएको उनले बताए । खेलकुदमा सफलता पाउन संरचना, खेलकुद गतिविधि र प्रशिक्षण जरुरी रहने उनले बताए । खेलमा हार र जीत दुवै सिकाउने भन्दै यसले व्यक्तिगत विकासमा समेत जोडिएको उनले बताए । खेल राष्ट्रियतासँग जोडिएको समेत उनले बताए । 

कार्यक्रममा प्रशिक्षक चन्द्रकान्त आचार्यले लामो समय खेल क्षेत्रमा योगदान दिएका खेल सम्बद्घ कार्यालय र प्रशिक्षकहरुलाई अवस्था दयनिय रहेको बताए । केन्द्रकृत मानसिकता हाबी हुँदा खेल र खेलाडीको क्षमता विकास रोकिएको उनले बताए । 

रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यवाहक सचिव राजेन्द्र श्रेष्ठले ४ कठ्ठा १९ धुर जग्गामा पूर्वाधार विकास भएको ठाउमा धेरै विधाका खेलहरु खेलाउन कठिनाई भइरहेको बताए । उनले जिल्ला खेलकुद गतिविधिमा सहभागी भई राम्रो नतिजा ल्याउन सफल भएको भन्दै थप पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए । 

कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका कार्यालय प्रमुख महेश चन्द, सदस्य नरेन्द्र सोमरे, कराँते प्रशिक्षक माधव घिमिरेले खेल विकासमा टेवा मिल्ने गरी काम गर्न सुझाव दिए ।