२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

‘व्यवस्था फेरिए पनि मानवअधिकारको अवस्था परिवर्तन भएन’

बिहिवार , मंसिर ११, २०७७

भैरहवा, ११ मंसिर ।

व्यवस्था फेरिए पनि मानवअधिकारको अवस्था परिवर्तन नभएको सरोकारवालाहरुले बताएका छन् । अझै पनि लैंगिकतामा आधारित घटना र मानवअधिकार हननका घटनाको प्रहरीमा जाहेरी नलिने, प्रहरीबाट अदालतमा गएका घटनामा पनि अभियोजन र अनुसन्धानमा समस्या हुने गरेको उनीहरुले बताए । सर्वसाधरणलाई मानव अधिकारको अनुभूति दिलाउन सेवाप्रदायक निकायलाई नागरिकमैत्री बनाउनुपर्ने उनीहरुले जनाए ।

माहुरी होम रुपन्देहीको सहयोगमा जवाफदेयीता निगरानी समिति रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको मानवअधिकारको अवस्था विषयक अन्तरक्रियात्मक बैठकमा सहभागीले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै जवाफदेयीता निगरानी समितिका कार्यवाहक संयोजक शिव प्रसाद गौडेलले नेतृत्व तहमा रहेका व्यक्तिलाई जवाफदेयी बनाउन निरन्तर खबरदारी गर्नुपर्ने बताए ।

महिला तथा बाल अधिकार संजाल संयोजक समिता मल्लले सर्वसाधारणलाई न्याय दिलाउन कानूनी चेतना बारेमा सिकाउनुपर्ने बताइन् ।

नमुना एकीकृत विकास परिषदका अध्यक्ष ज्ञानु पौड्यालले पीडितलाई सहज न्याय दिलाउन  सरोकारवाला एकीकृत हुनुपर्ने बताइन् । माहुरी होमका सदस्य राम विकास चौधरीले कोभिड–१९ को संक्रमणका बेला अझ बढी भ्रष्टाचार भएको बताउँदै अब सुशाशन र जवाफदेयीतालाई प्रमुख मुद्धा बनाउनुपर्ने बताए । 

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका सूचना अधिकृत देव ज्ञवाली, जिल्ला प्रहरी कार्यालयका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका शेष नारायण भारती, एबीसी नेपालका मनोज लामिछाने, थर्ड एलायन्सका अग्नीशक्ति यादव, संचारकर्मी सम्झना शर्मा, अपांगता समाजकी सावित्रा घिमिरे, न्यायका लागि द्धन्द्ध पीडित समाजकी रीता सेन, संजय गुप्ता लगायतले मानव अधिकार संरक्षणका लागि अब गर्नुपर्ने कार्यबारे बताएका थिए ।