
शुक्रवार , मंसिर १२, २०७७
भैरहवा, १२ मंसिर ।
उद्योग व्यापार संगठन रुपन्देहीले नेपाल राष्ट्र बैंकबाट जारी भएको मौद्रिक नीतिमा केही भए पनि उद्योगी व्यवसायीहरुको बैंक ऋण र ब्याज सम्बन्धमा सम्बोधन भएकोले उक्त कुराहरु इमान्दारीपूर्वक लागू हुनुपर्ने माग गरेको छ । संगठनले बिहीबार संघीय सरकारका अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई भैरहवामा ज्ञापनपत्र बुझाउँदै विभिन्न १२ बुँदे माग राखेको होे ।
उद्योगी व्यवसायीको ऋणको ब्याज मंहगो भएकोले अहिलेको कारोबारले धान्न नसक्ने हुँदा सहूलियत पूर्ण पुर्नकर्जाको दायरा बढाएर बढीमा १० करोडसम्म पुर्नकर्जा उपलब्ध हुने वातावरण बनाइ कार्यान्यवन गर्नुपर्ने संगठनले अर्थमन्त्री पौडेलसमक्ष माग राखेको छ ।
त्यस्तै कोभिड–१९ का कारण उद्योगी व्यवसायीहरुलाई आर्थिक नोक्सानी परेकोले विद्युतको डिमान्ड चार्ज र उद्योगको बीमा शुल्क जस्ता खर्चहरुमा सरकारले छुट दिनुपर्ने संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए । कोभिड–१९ को प्रभावमा परेका उद्योगी व्यवसायीहरुलाई आन्तरिक राजस्व कार्यालयमार्फत करमा २५ प्रतिशत छुट तथा जरिवानामा छुट दिनुपर्ने भण्डारीले बताए ।
त्यसै गरी भन्सार कार्यालयबाट आयात हुने वस्तहरुमा विदेशीबाट जारी भएका ट्याक्स इनभ्वाइसहरुलाई मान्यता दिनुपर्ने तथा भन्सार मुल्यांकन बुक समयसापेक्ष परिवर्तन गर्नुपर्ने संगठनका महासचिव अनिल कुमार ज्ञवालीले बताए । त्यस्तै नेपालभित्र लगानी गर्ने राष्ट्रिय उद्योग व्यापारीहरुलाई पर्यटन क्षेत्र जस्तै होटलहरुमा लगानी गर्दा कम्तीमा कृषि सरहको ऋण उपलब्ध गराउनुपर्ने ज्ञवालीले बताए ।
त्यस्तै कृषि व्यवसायी फर्महरु खोल्नको लागि दीर्घकालिन लिजमा जग्गा नपाइएकोले कृषि फर्म खोल्नको लागि खरीद गरिने जग्गाको लागि कृषि सरहको ऋण उपलब्ध गराउनुपर्ने, बजारमा आर्थिक चलायमान कमी देखिएकोले घरजग्गा विक्रीवितरण गर्दा लाग्ने लाभकरको दायरामा ९ लाखलाई बढाएर २९ लाखसम्म गर्नुपर्ने, १० लाख भन्दा माथिको रकम बैंकमा नगद लिन नपाउने कानूनलाई थोरै दायरा बढाएर रु. १५ लाखसम्म पु¥याउनेपर्ने संगठनको माग छ ।
त्यसै गरी व्यक्तिगत तथा पारिवारिक आयको सीमा बढाएर १० लाख पु¥याउनुपर्ने, भीसीटीएस प्रणालीमा वाईफाईको समस्याका कारण २/३ दिनसम्म सवारीसाधनहरु बाटोमा रोक्नुपर्ने भएकोेले यसलाई व्यवस्थित गर्नुपर्ने र कोभिड–१९ को बीमा एक हप्ताभित्र भुक्तानी गर्नुपर्ने भएतापनि कार्यान्यवन नभएकोले कार्यान्यवनमा ल्याउनुपर्ने संगठनले ज्ञापनपत्रमार्फत माग गरेको हो ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारी, निवर्तमान अध्यक्ष खिम बहादुर खत्री, वाणिज्य उपाध्यक्ष दर्पण श्रेष्ठ, महासचिव अनिल कुमार ज्ञवाली, कोषाध्यक्ष सचिन रोक्का, सल्लाहकार चोपलाल आचार्य, परामर्श समिति सदस्य हितराज पन्थी लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij