
विश्व साईकलयात्री पुस्कर शाह सहभागी हुँदै
मंगलवार , श्रावण १०, २०७९
बुटवल, १० साउन ।
साउन ११ गते बुधबार हुने सैनामैना कोरा २०२२ को तयारी पूरा भएको छ । सोमबार पत्रकार सम्मेलन गरी आयोजक साईकल साथी सैनामैनाका अध्यक्ष गगन रानाले तयारी पूरा भएको बताए । ‘स्वास्थ्य पर्यटन प्रवद्र्घनका लागि साईकल’ भन्ने नारासहित धार्मिकस्थलहरुको पहिचान र प्रचारप्रसारका साथै साईकिलेहरुबीच एकता र सामाजिक भावना विकास गर्ने पवित्र चाडका रुपमा रहेको कोरा मनाइँदै आएको उनले बताए । यो वर्षको कोरा साईक्लिङसंगै स्वर्गीय यमलाल रसाइलीको परिवारलाई सहयोग रकम हस्तान्तरण गर्ने उनले बताए । दोस्रो संस्करणमा आइपुग्दा धेरै सिकाई भएको उनले बताए । ‘कार्यक्रमको दर्ता शुल्कवापतको रकम स्वर्गिय रसाइलीको परिवारलाई हस्तान्तरण गर्नेछौ ।’– उनले भने । करीब ४ लाख ५० हजार खर्च हुने अनुमान रहेको कोराको मुख्य प्रायोजक सैनामैना नगरपालिका रहेको छ । त्यसै गरी नगरपालिकाभित्र रहेका अन्य सामाजिक संघ–संस्थाहरुको सहयोग रहेको उनले बताए । सैनामैनाका पवित्र धार्मिक स्थल, रिङरोड, निर्माणाधिन रंगशाला लगायतका स्थलहरु लगायत गरी ५४ किलोमिटर भन्दा बढी दुरी परिक्रममा गरिने उनले बताए ।
कार्यक्रममा विश्व साईकलयात्री पुष्कर शाहले साईकल मनोरञ्जनसंग पर्यावरण बचाउने एउटा महत्वपूर्ण अभियान भएको बताए । सामान्य अर्थमा कोरा भनेको घुम्ने जनाउने भन्दै उनले साईकलबाट प्राकृतिक, धार्मिक सम्पदा पहिचान र प्रवद्र्घन गर्ने रुपमा लिनुपर्ने उनले बताए । ‘यसबाट आन्तरिक पर्यटन प्रवद्र्घन हुन्छ ।’– उनले भने । पछिल्लोसमय ३ वर्षअघि ३ हजार बढी सहभागी ठूलो साईकलेहरु सहभागी भएको कोरा गरिएको उनले बताए । विश्वभर नै कोरा साईक्लिङ गरिदै आएको भन्दै उनले बुद्ध जन्मस्थल लुम्बिनीलाई जोडेर धेरै कार्यक्रमहरु गरिदै आएको बताए ।
यो वर्ष कोरामा रुपन्देहीसहित नवलपरासी, कपिलबस्तु जिल्ला साईक्लिङ संघ र क्लबहरुको एक सय ५० बढी साईक्लिष्टहरु सहभागी हुने कार्यक्रम संयोजक गोबिन्द ज्ञवालीले बताए । मुर्गियास्थित लुम्बिनी गेटबाट समुद्घाटन गरिने उनले बताए । कार्यक्रममा ६ वर्षदेखि ८४ वर्षसम्मका साईकिलेहरु सहभागी हुने उनले बताए ।
कार्यक्रमका स्वास्थ्य संयोजक निकोलस भुसालले स्वस्थ्यका हिसाबबाट पनि साईकल चलाउने उपयोगी हुने बताए । स्वास्थ्य र साईकल सिटी सैनामैना बनाउन पनि उपयोगी हुने बताए । हुनेखाने र पहुँचवालालाई लक्षित सवारीका पूर्वाधार बनेको भए पनि सबैभन्दा धेरै सवारीका रुपमा दैनिक जीवनमा प्रयोग हुने साईकललाई लक्षित गरी लेन नबन्नु दुःखद भएको बताए । सैनामैनाको रानीकुवा, पर्रोहा बोलबम धाम, क्रिकेट रंगशाला, सिमसार क्षेत्र, मलमला, भैरव मन्दिर, लामिरह हुँदै बाबरी पार्टी पेलेसमा समापन गरिने उनले बताए । समापनको क्रममा थारु, नेवा संस्कृतिका नाचहरु समेत देखाइने उनले बताए । कार्यक्रममा सचिव विष्णु गौतम, कुशल पौडेलले सबैको साथ र सहयोगमा कार्यक्रम सफल हुने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij