
शुक्रवार , मंसिर १२, २०७७
बुटवल, १२ मंसिर । राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरण र राजमार्गको सरसफाइलाई ध्यानमा राख्दै रुपन्देहीको सैनामैनामा नेपालकै पहिलो स्मार्ट रिफ्रेस सेन्टर स्थापना गरिने भएको छ ।
लुम्बिनी प्रदेश सरकारको ४ करोड ८२ लाख रुपैयाँको लगानीमा नेपालमै पहिलो अत्याधुनिक प्रविधिसहितको स्मार्ट रिफ्रेस सेन्टर स्थापना हुने भएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । रिफ्रेस सेन्टरमा साना ठुला गरी करिब एक सय सवारीसाधन पार्किङ, चार्जिङ सेण्टर, अत्याधुनिक चालक विश्राम गृह, शौचालय, यात्रु प्रतिक्षालय, चमेना गृह लगायतका सुविधा रहने मन्त्रालयले जनाएको छ ।
राजमार्गमा अव्यवस्थित पार्किङ गर्ने र फोहर गर्ने कार्यलाई निरुत्साहित गर्नुका साथै लामो दुरीको चालकहरुलाई केही बेर आराम गर्ने व्यवस्था गरी सवारी दुर्घटना न्यूनीकरण गर्न प्रदेश सरकारले रिफ्रेस सेन्टरको स्थापनाको अवधारणा ल्याएको मन्त्रालयले जनाएको छ । सो अत्याधुनिक रिफ्रेस सेण्टरको शिलान्यास गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रिफ्रेस सेन्टरको निर्माणले नयाँ सभ्यताको सुरुवात हुने विश्वास व्यक्त गरे ।
वर्तमान सरकार समृद्ध नेपाल सुखी नेपालीको अभियानमा अगाडि बढेकाले अस्थिरताको आशंका नगर्न आग्रह गर्दै मुख्यमन्त्री पोखरेलले नेपालका शिर्ष नेताहरुमा क्रान्ति गर्ने तर उपलब्धीको व्यवस्थापन गर्न नसक्ने कमजोरी रहेका कारण बेलाबेलामा राजनीतिक समस्या आउने गरेको बताए ।
प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरी, उद्योग, पर्यटन वन, तथा वातावरण मन्त्री लिला गिरी, राष्ट्रियसभामा नेकपाका मुख्य सचेतक खिमलाल भट्टराई, सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्की, उपप्रमुख बिना राना लगायतले नेपालको पहिलो रिफ्रेस सेन्टर रुपन्देहीको सैनामैनामा संचालनमा आएको इतिहास कायम गर्न पाउनु जिल्लावासीका लागि गौरवको विषय भएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij