२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

वर्तमान सरकार भ्रष्टाचारमा लिप्त : सभापति शाह

शनिवार , मंसिर १३, २०७७

बुटवल, १३ मंसिर । 
प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् । भ्रष्टाचारबाट कमाएको अकुत सम्पत्ति बाँडफाँडका सम्बन्धमा सरकारमा रहेका र नरहेकाबीच आपसमा झगडा हुँदा सत्ताधारी दलका नेताबीच विवाद उत्पन्न भएको सभापति शाहको ठहर छ । 

रिपोर्टस् क्लब, लुम्बिनी प्रदेशको आयोजनामा शनिबार बुटवलमा सम्पन्न साक्षात्कार कार्यक्रममा बोल्दै सभापति शाहले सत्तारुढ नेकपाका नेताहरुले जनताले ५ वर्ष सरकार संचालन गर्न दिएको जनादेशलाई लत्याएको बताए । 

‘भागबण्डा नमिलेकै कारण सत्तारुढ नेकपामा झगडा छ, अरु कुनै सैद्धान्तिक विषयमा झगडा छैन । हामी त भन्छौं नेकपालाई ५ वर्षका लागि सरकार चलाउने जनादेश छ, हामीलाई प्रतिपक्षमा रहेर निगरानी र खबरदारी गर्ने जनादेश छ’-उनले भने । 

उनले भने–‘लामो संघर्षबाट प्राप्त संघीय लोकतन्त्रलाई मजबुत बनाउँदै जनताको भावना र आकांक्षालाई सम्बोधन गर्दै देशको विकास गर्नोस, शिक्षा स्वास्थ्य र रोजगारको क्षेत्रमा लगानी गर्नोस, जनतालाई नेपालमा जनताको सरकार रहेको महसुस गराउनुस, भ्रष्टाचारीलाई कारबाही गर्नुस् अनि बल्ल देश बन्छ । यसका लागि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सहयोग र सहकार्य गर्न तयार छ ।’ प्रतिपक्ष मिलाउन त कुरै छोडौं आफ्नै पार्टीभित्र मिलाउन नसकेर सरकार अलमलमा परेको उनको ठहर छ । 

‘सरकारले कोभिड–१९ विरुद्धको कार्यक्रमहरु पनि राम्रोसंग संचालन गर्न नसकेको उनले आरोप लगाए । मानिसहरु औषधी उपचार नपाएर मरिरहेका छन् । कोभिड अस्पतालहरुमा बेड अभाव छ, अक्सिजन अभाव छ । तर सरकारको ध्यान आपसी खिचातानीमै व्यस्त छ’ सभापति शाहले भने । अब यसरी नचल्ने उनको दावी छ ।

प्रदेशको राजधानी सार्ने विषयमा नेकपाका महासचिव विष्णु प्रसाद पौडेलले मौन समर्थन जनाएको र अर्थमन्त्रीसंग राजधानी साटेको आरोप लगाउँदै सभापति शाहले विकास निर्माणका कुरा गरेर जनतालाई भुलाउन खोजेको टिप्पणी गरे ।