
आइतवार , मंसिर १४, २०७७
भैरहवा, १४ मंसिर ।
सममयै सडक निर्माण सम्पन्न नभएको विरोधमा बेलहियामा चक्काजाम गरिएको छ । सात वर्ष हुँदा पनि साढे सात सय मिटर सडक निर्माण नभएको विरोधमा बेलहिया गाउँ समाजको अगुवाइमा आइतबार बिहान चक्काजाम गरिएको हो ।
७ वर्ष भइसक्दा पनि इलाका प्रहरी कार्यालय बेलहियाको कार्यालयदेखि बाइपास सडकसम्मको साढे ७ सय मिटर सडक नबनेकोले सडकमा उत्रिएर विरोध प्रदर्शन र साढे २ घण्टा चक्काजाम गरिएको स्थानीय देवराज न्यौपानेले बताए । सडक निर्माण कार्यमा ध्यान नदिए अबको दिनमा बेलहियामा रहेको भैरहवा भन्सार कार्यालयसहित सम्पूर्ण सरकारी कार्यालय समेत ठप्प पार्ने न्यौपानेले चेतावनी दिए ।
‘बेलिहया–बुटवल सडकखण्ड अन्तर्गत मुख्य प्रवेशद्धारमा सडक निर्माण कार्य सम्पन्न नहुँदा धुलो खान बाध्य भएका छौं, अझ वर्षात्को बेला हिलैहिलो हुन्छ, हामीले पटकपटक प्रशासनिक निकायमा आग्रह ग¥यौं, तर हाम्रो मागको सुनुवाइ भएन, ’उनले भने । कहांकतैबाट सुनुवाई नभएकोले बेलहियावासी चक्काजाम गर्न बाध्य भएको उनको भनाइ थियो ।
सडकको विषयमा बारम्बार लिखित रुपमा जिल्ला प्रशासन कार्यालयमा पुगेर ध्यानाकर्षण गराउँदा पनि स्थानीय प्रशासन र निर्माण व्यवसायीको ध्यान पुग्न नसकेको स्थानीय उज्जवल पोखरेलले बताए । उनले पर्यटक भित्रिने प्रमुख नाका बेलहिया भनेर भाषण गरेर नथाक्ने तर सडक निर्माण सम्पन्न गर्नेतर्फ ध्यान नजानु दुःखद भएको बताए ।
‘करौडौं राजस्व उठाउने भैरहवा भन्सार कार्यालय पनि यही नै छ, तर किन हो एक दशक पुग्न लाग्दा पनि सडक निर्माण कार्यसम्पन्न हुन सकेन, पोखरेलले प्रश्न गरे ।’
यता बुटवल बेलहिया व्यापारिक मार्ग निर्माण आयोजनाकी इञ्जिनियर शुवेच्छा सारुले निर्माण व्यवसायीले छठपछि सडक निर्माण कार्य सुरु हुने प्रतिबद्धता जनाए पनि काम सुरु नगरेको बताइन् । उनले काम सुरु गर्न विरुवा कन्सट्रकशनलाई पुनः पत्राचार गरेको जानकारी दिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij