२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

काठमाण्डौं महानगरपालिका र रामग्राम नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना 

सहकार्य गरेर अगाडी बढने

आइतवार , मंसिर १४, २०७७

परासी, १४ मंसिर । 
रामग्राम नगरपालिका र काठमाण्डौ महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । शनिबार दुवै स्थानीय तहबीच एक समारोहबीच २१ बुँदे सम्झौता हुँदै भगिनी सम्बन्ध स्थापना भएको हो । दुवै स्थानीय तहले गरेको सहमति अनुसार २१ बुंदे सम्झौता पत्रमा रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ता र काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले हस्ताक्षर गरी उक्त सम्झौतापत्र एक अर्कालाई हस्तान्तरण गरि भगिनी सम्बन्ध स्थापना गरेका हुन् । 

रामग्राम नगरपालिकाको निम्तोलाई स्वीकार गरी रामग्राम आएका काठमाण्डौका महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खडकीसहित वडा अध्यक्ष, कार्यपालिका सदस्य एवं कर्मचारीलाई रामग्राम नगरपालिकाले गृहनगरमा भव्य स्वागत पनि गरेको थियो ।

रामग्राम नगरपालिकाको आयोजना तथा नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको अध्यक्षतामा भएको भगिनी सम्बन्ध स्थापना सम्बन्धी हप्ताक्षर समारोहमा नगरभित्रका धार्मिक स्थल तथा सम्पदा धरोहर एवं पर्यावरणलाई संरक्षण, प्रबद्र्धनमा सहकार्य गर्ने सम्झौता भएको छ । 

सम्झौतामा दुवै पालिकाले आ–आफनो अनुभव आदान प्रदान गर्ने, नगरको विकासमा सहकार्य गरेर अगाडी बढने उल्लेख गरिएको छ । दुवै पालिकाले यस सम्बन्धलाई अझै प्रगाढ बनाउन आवश्यक सल्लाह सुझाव र सहकार्य गरेर अगाडी बढने विश्वास लिइएको छ । 

यसै अन्तर्गत काठमाण्डौ महानगरपालिकाले शान्तिका अग्रदुत गौतमबुद्धको मावली रामग्राम नगरपालिका १८ पण्डितपुरमा कोलिय शान्ति उद्यान पनि बनाउने सहमति भएको छ । समारोहमा महानगरपालिकाले उक्त कोलिय शान्ति उद्यान निर्माणका लागि रामग्राम नगरपालिकाकालाई १ करोड ५० लाख रुपैयाँ सहयोग गर्न उद्दघोष गर्दै सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।
समारोहमा रामग्राम नगरपालिका प्रमुख गुप्ताले दुवै स्थानीय तहबीचको ऐतिहासिक भगिनी सम्बन्धलाई अझै मजबुत बनाउन आगामीका दिनमा दुबै तहबीच विभिन्न आवश्यक क्षेत्रमा सहकार्य गरेर अगाडी बढने बताए ।

उनले नगरको पर्यावरण, एतिहासिक तथा पुरातात्विक धार्मिक स्थल, नगरको विकास, सम्पदाहरुको संरक्षण र प्रवद्र्धनमा सहकार्य गर्दै जाने र आवश्यक सहयोग समेत प्रताप्त हुने विश्वास व्यक्त गरे ।

समारोहमा प्रमुख अतिथि समेत रहेका काठमाण्डौ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले रामग्राम नगरपालिकासंग यो भगिनी सम्बन्ध स्थापना गरिएको ऐतिहासिक क्षणमा रामग्राम नगरपालिकाको विकास र यहाँको सम्पदा र पर्यावरणको संरक्षण, प्रबद्र्धनको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले रामग्राम नगरपालिकालाई पर्यटनको रुपमा विकास गर्न प्राविधिक तथा आर्थिक सहयोग समेत गर्ने प्रतिबद्धता व्यक्त गरे । आफु निर्वाचित भएको ३ वर्षको अन्तरालमा पहिलो पटक दुई स्थानीय तहबीच भगिनी सम्बन्ध स्थापना गरेकोमा रामग्राम नगरपालिका पहिलो रहेको भन्दै यहाँका पर्यटकीय तथा नगर क्षेत्रलाई भ्रमण अवलोकन गर्ने अवसर प्रदान गर्ने रामग्राम नगरपालिकालाई धन्यवाद समेत ज्ञापन गरे । 

समारोहका विशिष्ट अतिथि काठमाण्डौ महानगरपालिका उपप्रमुख हरिप्रभा खडकी, रामग्राम नगरपालिका उपप्रमुख रम्भा कुंवर, काठमाण्डौ महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, रामग्राम नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थी लगायतले भगिनी सम्बन्ध स्थापनाले दुवै तहबीच सहकार्य हुने र आवश्यक सहयोग आदानप्रदान हुने विश्वास व्यक्त गरे । समारोहमा काठमाण्डौ महानगरपालिका वडा अध्यक्ष, कार्यपालिका सदस्य, रामग्राम नगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य र दुबै पालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।