२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

नोबेल प्राइज भनेर चिनिने ‘हल्ट प्राइज’ सम्पन्न

आइतवार , मंसिर १४, २०७७

भैरहवा, १४ मंसिर । 
कृषि र पशु विज्ञान संस्थान, पक्लिहवा रूपन्देहीले विद्यार्थीहरूको नोबेल प्राइज भनेर चिनिने ‘हल्ट प्राइज’को अन क्याम्पस इभेन्ट सम्पन्न गरेको छ । 

विश्वभरीबाट सहभागी हुने यस कर्यक्रममा करिब १२१ देशका २५ सय बढी विश्वविद्यालयका विध्यार्थीहरुले भाग लिएको उक्त कार्यक्रम हल्ट फाउण्डेशन, हल्ट इन्टरनेशनल बिजनेश स्कुल र संयुक्त राष्ट्र संघले संयुक्त रुपमा आयोजना गरेको हो ।
अहिलेसम्म शिक्षा, बिजुली, पानी, खाद्य सुरक्षा र यस्तै अन्य किसिमका चुनौतीहरूमा आधारित रहेर अमेरिकाका ४२ औं राष्ट्रपति बिल क्लिन्टनले हरेक वर्ष कुनै एक चुनौतीका निम्ति विषयवस्तु रोज्ने गरेका छन् । हरेक बर्ष चुनौतीहरु संयुक्त राष्ट्र संघको दिगो विकासमा आधारित रहेर घोषणा गरिन्छ । 

हल्ट पुरस्कार एक अन्तर्राष्ट्रिय खुला प्लेटफर्म पनि हो जसले विद्यार्थीहरुलाई नेटवर्क र उद्यमशीलता अगाडि बढाउन अवसर दिन्छ । यो प्रतिष्पर्धाका विजेता विद्यार्थीहरूका लागि एक मिलियन अमेरिकी डलर पुरस्कार रहेको छ । भर्चुअल रुपमा आयोजना भएको यस इभेन्टमा २६ वटा टिमको सहभागिता रहेको थियो । अघिल्ला चरणहरु पार गर्दै उत्कृष्ट ४ टीमले फाइनलमा प्रवेश गर्न सफल भएको आयोजकले जनाएका छन् ।

भर्चुअल रुपमा भएको इभेन्टमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वको उपस्थिति रहेको थियो । त्यस्तै फाइनल इभेन्टमा निर्णायकको रुपमा मुक्तिनाथ कृषि कम्पनीका प्रमुख कार्यकारी अधिकृत सलील कुमार श्रीवास्तव, यूएनडिपी लुम्बिनी प्रदेशका कार्यालय प्रमुख सुदिप अर्याल, एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीका खाद्य, कृषि र जैविक स्रोतका विभाग प्रमुख प्रा. डा. अनिल कुमार अनल, राष्ट्रिय खाद्य बैंकका कार्यकारी अध्यक्ष शंकर उप्रेती र इन्टरनेशनल कर्पोरेट ट्रेनर र स्पिकर मानसी अग्रवालको उपस्थिति रहेको थियो । फाईनलमा पुगेका ४ टिमले यस बर्षको चुनौती ‘फुड फर गुड’ मा केन्द्रित रहेर आफ्नो प्रस्तुति राखेका थिए । सबै टिमको प्रस्तुतीलाई मूल्यांकन गरी निर्णायकहरुले सुरज भण्डारी, अशोक सारु मगर र सुरेश रोकायको टिम ससटेन्ट स्क्वायडलाई विजेता छनोट गरेका थिए ।

अन क्याम्पस इभेन्टको बिजेता टिमले अब यस कार्यक्रमको अर्को चरण रिजनलमा प्रवेश गरेको जानकारी दिदै उपस्थिति टिम, सहभागी तथा निर्णायकलाई धन्यवाद दिदै हल्ट प्राइज पक्लिहवा क्याम्पसका क्याम्पसका निर्देशक बिपिन रिजालले कार्यक्रमको समापन गरेका थिए ।