२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

भदौ १८ गतेबाट लिस्नु कप हुदै 

आइतवार , श्रावण २९, २०७९

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा रहेको लिस्नु कप राष्ट्रिय फुटबल प्रतियोगिताको २०औं संस्करण भदौ १८ गतेदेखि हुने भएको छ । प्रतियोगिता तिलोत्तमा नगरपालिका–१५, कोटिहवा स्थित श्री पशुपति माविको खेलमैदानमा हुने लिस्नु युवा क्लवले जनाएको छ । 

प्रतियोगिताको आवश्यक तयारी शुरु गरिएको क्लबका अध्यक्ष तिर्थ मल्लले जानकारी दिए । क्लवले प्रतयोगिता संचालनका लागि मैदान मिलाउने काम शुरु गरेको तथा त्यसपछि अस्थायी प्यारापिट लगायतका अन्य भौतिक कार्यहरु पनि शुरु गरिने अध्यक्ष मल्लले बताए ।

प्रतियोगिताको प्रचार प्रसारको काम पनि शुरु गरिसकेको आयोजकले जनाएको छ । प्रतियोगितामा रुपन्देहीसहित बिभिन्न जिल्लाका क्लबहरुको सहभागिता रहने क्लवले जनाएको छ । 

यसपटक प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजन श्रीमाया गुरुङले गरेकी छिन् । उनले आफ्नो स्वर्गिय पिता डिम बहादुर गुरुङको स्मृतिमा पुरस्कार प्रायोजन गरेकी हुन् । उनले प्रथम पुरस्कार वापत ३ लाख नगद प्रायोजन गरेकी हुन् ।

यो प्रायोजनसँगै प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीले जनही २५–२५ हजार पाउने आयोजकले जनाएको छ । 

त्यस्तै व्यक्तिगत विधातर्फ पनि नगदसहित पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष मल्लले बताए । रुपन्देहीमा पछिल्ला केही वर्ष कोरोना महामारीका कारण थलिएको फुटबल लिस्नु कपको आयोजनासँगै फेरि लयमा फर्किने अनुमान गरिएको छ । प्रतियोगिताको गत संस्करणको उपाधि फर्साटिकर युवा क्लबले जितेको थियो ।