२०८२, श्रावण २७ गते

Aug 12 2025 | २०८२, श्रावण २७ गते

अपांगता भएका व्यक्तिलाई ह्वील चेयर वितरण

आइतवार , भाद्र ५, २०७९

बुटवल, ५ भदौ ।
रोटरी क्लब अफ बुटवलले शारीरिक रुपमा अपांगगता भएका व्यक्तिहरुलाई ह्वील चेयर वितरण गरेको छ । क्लबले शनिबार १४२८ औं नियमित बैठकको अवसर पारेर एककार्यक्रमका बीच शारीरिक रुपमा अशक्त व्यक्तिहरुलाई ह्वील चेयर वितरण गरेको हो । त्यसअवसरमा १० थान ह्वील चेयर वितरण गरिएको क्लबका अध्यक्ष बोनिन पियाले जानकारी दिए ।

क्लबले रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर जितेन्द्र बहादुर राजभण्डारी, पूर्व डिजी एवं डिष्ट्रिकका अधिकारीहरुको हातबाट ह्वील चेयर वितरण गरेको थियो ।

कार्यक्रममा डिष्ट्रिक गभर्नर जितेन्द्र बहादुर राजभण्डारीले अपांगता भएका व्यक्तिलाई प्रोत्साहित गर्नुपर्ने भन्दै रोटरी क्लब अफ बुटवलले गरेको मानवीय कार्यको प्रशंसा गरे । उनले रोटरी टीममा काम गर्ने र टीममा हिंड्ने संस्था भएकाले यसको महत्व र आवश्यकता बढ्दै गएको भन्दै सामाजिक क्षेत्रमा देखाएको अग्रसरता र विभिन्न रचनात्मक कामका कारण रोटरीयनप्रतिको विश्वसनीयता बढ्दै गएको बताए ।

क्लबका अध्यक्ष बोनिन पियाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व डिष्ट्रिक गभर्नर सञ्जय गिरी र वासुदेव गोल्याल, डिजिएम राजेन्द्रमान शेरचन, डिष्ट्रिक गभर्नर इलेक्ट राजेन्द्रप्रसाद ध्वजू, रोटरी क्लब अफ बुटवलका पूर्वअध्यक्ष हरिप्रसाद पौडेल, सचिव लालहरि पाण्डे लगायतले पनि बोलेका थिए । कार्यक्रममा डिष्ट्रिक सेक्रेटरी अमित गिरी लगायतका डिष्ट्रिक अधिकारीहरुको पनि उपस्थिति थियो ।

बैठकमा इन्ट्रयाक्ट क्लब अफ पामिर एकेडेमी, इन्ट्रयाक्ट क्लब अफ अक्सफोर्ड मावि, इन्ट्रयाक्ट क्लब अफ क्यानन मावि, इन्ट्रयाक्ट क्लब अफ दिप बोर्डिङ एवं इन्ट्रयाक्ट क्लब अफ कालिका मानवज्ञान माविलाई सामग्री वितरण गरिएको थियो ।