
मंगलवार , मंसिर १६, २०७७
बुटवल, १६ मंसिर ।
रोल्पास्थित सुनिल स्मृति गाउँपालिका ६ घर भएकी कमला थापा क्षेत्रीले आफ्नो दुवै मृगौला फेल भएको र आर्थिक अभावका कारण उपचारमा कठिनाइ भएकोले सहयोगको अपिल गरेकी छन् । गत असारदेखि बुटवलस्थित बिभिन्न अस्पतालमा डायलाईसिस् गराइरहेकी कमलाले हप्तामा दुई पटक गर्नुपर्ने हुँदा भएको सम्पत्ति पैसा सकिएको र आर्थिक अभावका कारण समस्या परेको भन्दै सहयोगका लागि सबैलाई अपिल गरेकी हुन् ।
उनका श्रीमान् ३ वर्ष अघिदेखि सम्पर्कबिहीन भइ बेपत्ता अवस्थामा छन् । एक वर्ष अघिदेखि विरामी परेकी कमलालाई गत असारमा मात्रै दुवै मृगौला फेल भएको थाहा पाएकी थिइन् । सुरुमा दाङ, काठमाण्डौ, बुटवल लगायतका स्थानमा उपचार गराउँदा पनि लाखौं रुपैयाँ खर्च बढी भएको उनी बताउँछिन् ।
बुटवलमा कोठा भाडामा लिएर बसेकी कमलाले ४ महिनादेखि लम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराइरहेकी थिइन् । त्यहाँको डायलाईसिस् मेसिन बिग्रिएका कारण कयौं पटक निजी अस्पतालमा उपचार गराउन बाध्य हुनु परेको उनी बताउँछिन् । निजी अस्पतालमा डायलाईसिस् गराउँदा एक पटकको २ हजार ५ सयदेखि ६ हजार ५ सयसम्म रकम तिर्नुपर्ने हुदाँ उपचार महंगो हुनाले सहयोग माग्नु परेको उनको भनाइ छ ।
प्रत्येक पटक जसो रगत जाँच गर्नुपर्ने, रगतको मात्रा बढाउने औषधी खानुपर्ने, निमोनिया लगायतका खोप लगाउनुपर्ने, औषधी खरिद गर्दा रकम धेरै लाग्ने उनी बताउँछिन् । हालसम्म उपचारमा मात्रै ५ लाख खर्च भइसकेको बताउँदै थापाले लुम्बिनी प्रादेशिक अस्पतालले १ लाखसम्मको डाईलासिस् निःशुल्क गर्ने भने पनि अन्य सबै खर्च गर्दा सो भन्दा बढी लाखौं रुपैयाँ लागेको बताइन् । मृगौला फेर्नका लागि आफ्नो मान्छेले दिएमा १५ देखि २० लाखसम्म लाग्ने तर डोनर नपाएर किन्न परेमा त खर्च अझ बढी लाग्ने थापाको भनाइ छ ।
२०४२ सालमा जन्मिएकी कमलाको २०६० सालमा बिहे भएको थियो । उनका २ छोरी छन् । हालसम्म सबै खर्च माइतीले बेहोरेको बताउँछिन् । श्रीमान् ३ वर्षदेखि सम्पर्कविहीन रहेको बताउँदै कमला भन्छिन ‘माइतीले नहेरेको भए आजसम्म म बाँच्ने नै थिइन् ।’ उनलाई सहयोग गर्न चाहनेले ९८६८६०२०५१ मा सम्पर्क गर्न समेत अपिल गरिएको पारिवारिक श्रोतले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij