२०८२, श्रावण २७ गते

Aug 12 2025 | २०८२, श्रावण २७ गते

लुटपाट तथा गोली प्रहार घटनाका मुख्य योजनाकार सार्वजनिक

बुधवार , भाद्र ८, २०७९

भैरहवा, ८ भदौ । 
गत साउन २९ गते रुपन्देहीको रोहिणी गाउँपालिका–१ बाइपास रोडस्थित गोली प्रहार गर्ने मध्येका दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । सिद्धार्थनगर–१ बेलहियाका २८ वर्षिय विकास गुरुङलाई गोली प्रहार गरी फरार तीन जनामध्ये योजनाकारसहित दुई जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा रुपन्देहीको मायादेवी गाउँपालिका–७ महुबारीका ३२ वर्षिय पवनराज भर र सिद्धार्थनगर नगरपालिका–४ का २१ वर्षिय मोहम्मद असरद मुसलमान (काजु) रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीले घटनाका मुख्य योजनाकार पवनराज भर रहेको खुलाएको छ । 

रोहिणी गाउँपालिका–१ बाइपास रोडस्थित न्यू सिद्धार्थ रेष्टुरेण्टमा हतियार देखाइ नगद, सुनका गरगहना र मोबाइल लुटपाट गरी भाग्दै गरेका उनीहरुलाई पिछा गर्दै गएका गुरुङलाई गोली प्रहार गरेका थिए । घटनामा संलग्न एक जना फरार रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

रेष्टुरेण्टमा लुटपाट गरेर भाग्ने क्रममा बसन्तपुर बाईपास नजिकै मोटरसाइकलमा सवार तीन जनालाई सिद्धार्थनगर–१ बेलहियाका २८ वर्षिय विकास गुरुङले रोक्न खोज्दा तीनजनामध्ये बीचमा बस्ने व्यक्तिले गुरुङमाथि गोली प्रहार गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले बताए । एसपी रेग्मीकाअनुसार घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी टोली बसन्तपुर हुँदै बाईपास जाने क्रममा भैरहवा–परासी सडकखण्डको बांया किनारमा (ओमसतिया गाउँपालिका–४ स्थित बसन्तपुर चोकबाट अन्दाजी ३० मिटर पूर्व) विकास गुरुङ घाइते भएको अवस्थामा फेला परेका थिए ।

घाइते गुरुङलाई बाँया कम्मर माथि कोखामा गोली लागेको देखिएको र तत्काल उपचारको लागि भैरहवास्थित मेडिकल कलेज पठाइएको उनले बताए । एसपी रेग्मीले भने, ‘गोली लागेर घाइते भएको खबर प्राप्त हुनासाथ प्रहरीको टोली गोली चलेको घटनास्थल र लुटपाट भएको स्थल न्यू सिद्धार्थ रेष्टुरेण्टमा पुगेको थियो, आवश्यक सोधपुछ पश्चात रेष्टुरेण्ट सञ्चालक लक्ष्मी नेपालीसहित पाँच जनालाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा ल्याइ सोधपुछ तथा घटनाको विषयमा अनुसन्धान गरिएको थियो ।’

उनीहरुले रेष्टुरेण्टबाट २ तोला सुन, ५५ हजार नगद र ३ वटा मोबाइल फोन समेत लुटेर लगिएको भन्ने पीडितबाट निवेदन प्राप्त भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका पवनराज भर यसअघि सार्वजनिक अपराध, लागूऔषध, डाँका, चोरी र रजहनी चोरीसम्बन्धी अपराधमा मुद्दा चलि सजाय पाइसकेका व्यक्ति हन् । पक्राउ परेका पवनले मोटरसाइकल चलाएका थिए भने मोहम्मद मोटरसाइकलमा पछाडी बसेका थिए ।

पक्राउ परेको दुई जनालाई प्रहरीले बुधबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ गरेका व्यक्तिहरुको साथबाट अटोमेटिक पेस्तोल र चोरी भएको भिभो कम्पनीको मोबाइल फोन बरामद भएको प्रहरीले जनाएको छ ।