
बुधवार , भाद्र ८, २०७९
भैरहवा, ८ भदौ ।
रोट्रयाक्ट क्लब अफ रुपन्देहीले ११ औं स्थापना दिवस मनाएको छ । रोटरीयन तथा तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष रमेश डुम्रेको प्रमुख आतिथ्यतामा सम्पन्न स्थापना दिवस कार्यक्रममा रोटरी, रोटियन र अन्य गरी करिब ५० जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा रोटा वर्ष २०२२/२३ मा आफ्नो क्लब र समितिले गरेका कार्यमाथि प्रकाश पार्दै रोटा वर्ष २०२२/२३ का अध्यक्ष अनिल कुमार अर्यालले आगन्तुक सबैलाई प्रशंसापत्र तथा मायाको चिनोले सम्मान गरेका थिए । रोटा वर्ष २०२१/२२ मा कार्यसमितिमा रहेर क्लबमा योगदान पुर्याउनेलाई हौसला स्वरुप विभिन्न उपाधि प्रदान गरिएको थियो ।
कार्यक्रममा क्लबका नयाँ सदस्य तथा संस्थापकहरुलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमममा नवनिर्वाचित रोटरीयन वडा नम्बर ५ का वडा अध्यक्ष रमेश डुम्रे, वडा नम्बर ५ का वडासदस्य तथा रोट्रयाक्टका पूर्व अध्यक्ष हरि पन्त, वडा नम्बर ९ का सदस्य कमल शर्मा रेग्मी लगायतलाई सम्मानसहित सफल कार्यकालको शुभकामना समेत व्यक्त गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा वडा नम्बर ५ का अध्यक्ष रमेश डुम्रेले वडा कार्यालयको तर्फबाट क्लबलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले रोट्रयाक्ट क्लब अफ रुपन्देहीसँग सहकार्य गर्ने बताए । उनले भने, ‘रोट्रयाक्ट क्लब यस्तो संस्था हो जसले राम्रो काम गरेर छुट्टै समाजमा पहिचान बनाउन सफल भएको छ ।’
त्यस्तै बोल्दै रोटरी क्लब अफ रुपन्देहीका अध्यक्ष ऋषिराम भण्डारीले रोट्रयाक्ट रुपन्देहीसँग सहकार्य गर्दै अगाडि बढ्ने बताए ।
रोट्रयाक्ट क्लब अफ रुपन्देहीका संस्थापक अध्यक्ष प्रकाश गौतमले विभिन्न आरोह अवरोह पार गर्दै क्लब यहाँसम्म आइपुगेको बताए । कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष प्रकाश गौतम,वडा नम्बर ९ का वडा सदस्य तथा पूर्व रोट्रयाक्ट कमल शर्मा रेग्मी, वडा नम्बर ५ का वडा सदस्य तथा रोट्रयाक्ट हरि पन्थ, सुनिल भुसाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
क्लबका अध्यक्ष अनिल कुमार अर्यालको अध्यक्षतामा गरिएको कार्यक्रममा पुराना सदस्यहरुलाई सम्मान तथा नयाँलाई सदस्यता प्रदान गरिएको थियो । कार्यक्रम संयोजक शिशिर न्यौपानेको स्वागत तथा क्लबका सचिव मिलन पंगेनीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij