
शुक्रवार , भाद्र १०, २०७९
भैरहवा, १० भदौ ।
रुपन्देही जिल्ला खेलकुद विकास समितिको आयोजनामा शुक्रबारदेखि भैरहवामा जिल्लास्तरीय ब्याडमिन्टन छनौट प्रतियोगिता सुरु भएको छ । आगामी असोज २८ देखि कार्तिक ३ गतेसम्म पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि छनौट प्रतियोगिता सुरु गरिएको कार्यक्रम संयोजक तथा रुपन्देही जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष जय बहादुर सुनार (ध्रुव लामगादे)ले बताए । उनले भदौ १२ गतेभित्र छनौट गरेर खेलाडी प्रदेशमा पठाउनुपर्ने भएकाले शुक्रबारदेखि प्रतियोगिता सुरु गरिएको जानकारी दिए । प्रतियोगिताबाट ३८ जोडी खेलाडी छनौट हुने उनले बताए ।
प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला ब्याडमिन्टन संघ रुपन्देहीका अध्यक्ष महेन्द्र कुमार श्रेष्ठले खेलकुद सामग्री, तालिमको व्यवस्थाका लागि संघबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘जिल्ला ब्याडमिन्टन संघले खेलाडीको हौसला प्रदान गर्नेछ । ’
रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष जय बहादुर सुनार (ध्रुव लामगादे)को अध्यक्षता, महेन्द्र कुमार श्रेष्ठको प्रमुख आतिथ्यता, जीवन अधिकारीको स्वागत तथा रुपन्देही खेलकुद विकास समितिकी सदस्य राधिका चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij