अर्घाखाँची, २१ असार ।
खेतबारीमा लगाएको अन्नबाली बाँदरले सखाप पार्न थालेपछि अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले मंकी एयर गन वितरण गरेको छ । प्रत्येक वर्ष कृषकले लगाएको बाली संरक्षण गर्न निकै समस्या भएको समस्यालाई मध्यनजर गदै गाउँपालिका भित्रका आठ वडामा ५ वटाका दरले बाँदर धपाउने यन्त्र वितरण गरिएको गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिए ।
‘स्याङ्जाको हेलुबाट खरीद गरेर ल्याएको गनले दैनिकजसो बाँदरले किसानको अन्नबाली खाइदिने र क्षति गरेकाले अन्नबाली संरक्षणको लागि बाँदर धपाउन कुनै गाह्रो नहुने बताएको छ ।
मंकी एयर भित्र रहेको मकैका दाना आकारका चार दाना कार्बन, दुई बिर्को पानी हालेर केही मिनेट हल्लाएर घोल्ने र ग्यास लाइटरको सहायतामा पड्काएको आवाज सुनेर बाँदर डराएर भाग्ने भएकाले मंकी एयर गन वितरण गरिएको गाउँपालिकाका प्रमु्ख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए । त्यस्तै जिल्लाका ६ वटा स्थानीय तहका विभिन्न ठाउँमा बाँदरले खेतबारीमा लगाएको अन्नबाली वर्षेनी क्षति गर्दै आएको छ ।