
बुधवार , मंसिर १७, २०७७
बुटवल, १७ मंसिर ।
सामाजिक क्षेत्रका अगुवाहरुले स्वास्थ्य, शिक्षा लगायत विभिन्न क्षेत्रको विकासमा लगानी बढाउनुपर्ने बताएका छन् । रोटरी क्लब अफ बुटवलको २८ औं चार्टड नाइट समारोहमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । समाज रुपान्तरणका लागि रोटरीयनहरुको भूमिका महत्वपूर्ण हुने भन्दै उनीहरुले नयाँ नयाँ परियोजना ल्याउन र विकासको योजना बनाउन समेत आग्रह गरे ।
कार्यक्रममा बोल्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का गभर्नर राजीव पोखरेलले रोटरीले समाजमा साँच्चिकै प्रभाव पार्नुपर्ने काम गरेर देखाउनुपर्ने बताए । रोटरी इन्टरनेशनलले ग्लोबल ग्रान्ड जस्तै स्किल ग्रान्ड प्रोजेक्ट ल्याएको र यो दुई मिलियन डलरको रहेको भन्दै उनले नयाँ नयाँ परियोजना छनोट गरेर स्किल ग्रान्ड प्रोजेक्टमा पेश गर्न सुझाव दिए ।
प्रदेश योजना आयोग, स्थानीय सरकार लगायत सरोकारवाला निकायलाई संलग्न गराएर परियोजना छनोट गर्न सक्ने हो भने स्किल ग्रान्ड प्रोजेक्ट अन्तर्गत बजेट ल्याउन सकिने पोखरेलको भनाइ छ । रोटरीका क्लबहरु देशव्यापी बढिरहेको भन्दै उनले नयाँ नयाँ क्लबहरु चुनौतीका रुपमा देखा परेको बताए । अनुभवी व्यक्ति रोटरीमा आउनुपर्ने र जसले युवालाई मार्गनिर्देशन गर्ने भन्दै उनले रोटरी फाउन्डेशनमा ५० प्रतिशत योगदान गर्न पनि आग्रह गरे ।
कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले रोटरीले सामाजिक क्षेत्रमा गरेको लगानी र विकासले यसको गरिमा र महत्वलाई उजागर गरेको भन्दै योजना आयोग अहिले प्रदेशको विकास योजनामा केन्द्रित भएर काम गरिरहेको जानकारी दिए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख एवं रोटरी क्लब अफ बुटवलका मानार्थ सदस्य शिवराज सुवेदीले रोटरीयनहरुको अझै बढी योगदान देश र समाजले खोजिरहेको बताए ।
रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का एसाइन एसिष्टेन्ट गभर्नर खिमानन्द भुसालले शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा रोटरी बुटवलको अग्रणी भूमिका रहेको बताए । रोटरी क्लब अफ बुटवलका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष खिमानन्द भुसाल, सचिव रोम शर्मा, क्लब एडमिनिष्ट्रेसन कमिटीका चेअर दया भण्डारी, रोटरी क्लब अफ चितवनका अध्यक्ष रोशन पिया लगायतले पनि बोलेका थिए ।
त्यस अवसरमा विभिन्न अक्षय कोषबाट गरीब तथा जेहेन्दार र अपांगता भएका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो । यसरी छात्रवृत्ति प्राप्त गर्नेहरुमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय कपिलवस्तुकी अनिता धोवी, शान्ति नमूना मा.वि. मणिग्रामका विज्ञान बस्नेत, कान्ति मा.वि. बुटवलकी मनिषा न्यौपाने, दिप बोर्डिङकी रुपा रौतार र शान्ति नमूना मा.वि.की शिल्पा कोइरी रहेका छन् । त्यस्तै पत्रकार रुद्रहरि कुंवरलाई पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा पूर्व अध्यक्षहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij