
बुधवार , मंसिर १७, २०७७
देवदह, १७ मंसिर ।
घरेलु हिंसाविरुद्ध सचेतना कार्यक्रम बुधबार देवदहमा सम्पन्न भएको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको ९ औ दिनको अवसर पारेर देवदह जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सो कार्यक्रम सम्पन्न भएको हो ।
देवदह जेसीजले आयोजना गरेको कार्यक्रममा देवदह नगरभित्रको पिछडिएको वस्तीमा रहेका सोइया महिला स्वावलम्बी संस्थामा रहेका ३५ जना महिलाहरुलाई सहभागि भएका थिए । सामाजिक उत्तरदायित्वलाई बहन गर्दै अगाडी बढेको संस्था देवदह जेसीजले समाजमा रहेका मानिसहरुलाई प्रभावित पार्ने खालका कार्यक्रम सञ्चालन गरेकोमा देवदह नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष दिपक चापागाईले खुशी व्यक्त गरे । समाजमा थुपै्र खालका घरेलु हिंसा घटिरहे पनि बाहिर आवाज आउन नसक्नु दुःखद भएको भन्दै अध्यक्ष चापागाईले हिंसालाई निर्मूल पार्न कम्मर कसेर अगाडी बढन आग्रह गरे ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका चापागाईले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्नुपर्ने उल्लेख गर्दै कुनै समस्या परेमा नगरपालिका समक्ष निर्धक्क भएर समस्या राख्न आग्रह गरे । उनले समुदायका हरेक समस्या समाधान गर्न नगरपालिका सधै साथमा रहेको बताए ।
त्यस्तै देवदह जेसीज वर्ष २०२० का अध्यक्ष सुरेन्द्र अधिकारीले देवदह जेसीज सामाजिक संस्था भएकाले सदैव समाजको विकासका लागि लागिपर्ने बताए ।
देवदह जेसीजका अध्यक्ष सुरेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा महामाया भवानी मा.वि.का प्राचार्य दिनानाथ अर्याल, सोइया महिला स्वाबलम्बी संस्थाका व्यवस्थापक मेनुका पराजुली लगायतले बोलेका थिए ।
कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका ओसिएमसिका फोकलपर्सन जमुना पन्थीले प्रशिक्षण दिएकी थिइन् । संस्थाका सह–सचिव कमला अर्यालको स्वागत तथा महासचिव केशव पराजुलीको सञ्चालनमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष शोभा काफ्लेले आस्थापाठ वाचन गरेकी थिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij