
बिहिवार , मंसिर १८, २०७७
भैरहवा, १८ मंसिर ।
कुटुम्ब होम प्रा.लि. भैरहवाको आयोजनामा सिद्धार्थनगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता (लिग) हुने भएको छ । यही मंसिर २० गते शनिबार हुने प्रतियोगितामा ३२ वटा टिम (६४ जना खेलाडी)को सहभागिता रहने आयोजकले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै कुटुम्ब होम प्रा.लि.का प्रबन्ध निर्देशक, पर्यटन व्यवसायी तथा कार्यक्रम संयोजक सुजन पाण्डेले हाटबजारस्थित भैरहवा ब्याडमिन्टन क्लबमा प्रतियोगिताको आयोजना गरिने बताए । उनले प्रतियोगितामा प्रथम हुनेलाई लिलिन र्याकेट, ब्याडमिन्टन ब्याग र ब्याडमिन्टन ड्रेस सेट, दोस्रोलाई जेडएस र्याकेट र तेस्रोलाई ब्याडमिन्टन ड्रेस सेट पुरस्कार प्रदान गरिने जानकारी दिए । प्रतियोगितामा प्रवेश शुल्क १ हजार रुपैयाँ तोकिएको उनले बताए ।
भैरहवा ब्याडमिन्टन क्लबका कोषाध्यक्ष गणेश बहादुर क्षेत्रीले भैरहवामा ब्याडमिन्टन कबर्ड हलमा प्रतियोगिताहरु हुन नसकेको अवस्थामा कुटुम्ब होम प्रा.लि.ले आयोजना गर्नु सराहनीय रहेको बताए । ‘भैरहवाको कबर्ड हल सुविधासम्पन्न छ, तर यसको प्रयाप्त उपयोग हुन सकेको छैन, भैरहवा ब्याडमिन्टन क्लबको एक्लो प्रयासले मात्र हुँदैन, स्थानीय, प्रदेश र स्थानीय सरकारले ब्याडमिन्टन प्रतियोगिताहरु आयोजना गर्नुपर्छ,’ उनले भने । उनले सिद्धार्थनगरमा खेलकुद क्षेत्रलाई अगाडी बढाउनुपर्नेमा जोड दिए ।
प्रतियोगिताका प्रमुख रेफ्री जीवन अधिकारीले नकआउट सिष्टममा बिहान ७ बजेदेखि खेल सुरु हुने बताए । उनले सामाजिक दुरी कायम गरेर प्रतियोगिता सम्पन्न हुने बताए ।
ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेर यो खेलको विकासमा अझै ध्यान दिनुपर्ने लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीका कार्यसमिति सदस्य शम्भु पन्त बताउँछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij