
बिहिवार , मंसिर १८, २०७७
बुटवल, १८ मंसिर ।
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले अपांगता भएका व्यक्तिको २९ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा बुटवल उपमहानगरपालिका– १५ मा रहेको आश्रममा सेतो छडी तथा खाद्यान्न बितरण गरेको छ । बिहीबार एक कार्यक्रमकाबीच बुटवल–१५ उजेलापुरमा रहेको लुम्बिनी अपाङ्ग दृष्टिबिहीन तथा अनाथ आश्रममा सो सामग्री हस्तान्तरण गरिएको हो ।
जिल्ला सभापति डीपी खनालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख वक्ता मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय वरिष्ठ उपसभापति गोबिन्द खनालले फरक क्षमता भएका व्यक्तिहरुलाई माया, सम्मान र अवसरको खाँचो रहेको भन्दै आश्रम व्यवस्थापनबाट तीनै तहका सरकार पन्छिएको आरोप लगाए । उनले आश्रमहरुलाई व्यवस्थित बनाउने राज्यको दायित्व भएको भन्दै सरकार उदासिन भएको बताए ।
सो अवसरमा बोल्दै शान्ति समाजका केन्द्रिय सदस्य कृष्ण पंगेनीले समाजसेवा नै प्रमुख धर्म भएको बताए ।
कार्यक्रममा आश्रमका फरक क्षमता भएका ५ जनालाइ सेतो छडी साथै दैनिक उपभोग्य सामाग्री दाल, तरकारी, चामल लगायतका खाद्यान्न हस्तान्तरण गरिएको रुपन्देही सभापति डीपी खनालले बताए ।
२९ जना आश्रित सो आश्रम संचालनका लागि मासिक ६ हजार भाडा तिर्नुपरेको लुम्बिनी अपांग दृष्टिबिहीन तथा अनाथ आश्रमका अध्यक्ष मिरा कुमारी खड्काले दुःखेसो गरिन् । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सह–सचिव कपिल ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij