
बिहिवार , मंसिर १८, २०७७
भैरहवा १८ मंसिर। लैगिंक हिंसा बिरुद्ध सबै क्षेत्र र बर्गले निरन्तर काम गर्नु पर्नेमा भैरहवामा आयोजित कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।
लैगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अबसरमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको आयोजनामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले लैगिंक हिंसा अन्त्यका लागि सामुहिक प्रयास जरुरी रहेको भन्दै १६ दिन मात्रै नभई बर्ष भरी नै अभियानको रुपमा काम गर्नु पर्नेमा जोड दिए ।
जिल्ला महिला बाल अधिकार सञ्जाल रुपन्देहीको सहकार्य तथा स्ट्रोम फाउण्डेसन नेपाल, एबिसि नेपाल र अन्तराष्ट्रिय श्रम संगठनको सहयोगमा जिल्ला प्रशाशन कार्यालयमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले स्थानिय प्रहरी प्रशाशन लैगिंक हिंसाका बिरुद्धमा प्रभावकारी रुपमा काम गरिरहेको बताए । उनले हिंसामा परेका नागरिकलाई सम्बन्धीत निकायमा पुगेर उजुरी गर्न आग्रह समेत गरेका छन् ।
यो बर्ष लैगिंक हिसा अन्त्यको प्रतिबद्धताः व्यक्ति समाज र सबैको एक्यवद्धता भन्ने नाराका साथ १६ दिने अभियान अन्तरगत बिभिन्न कार्यक्रम सञ्चालन भईरहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक प्रबिण पोखरेलले मोवाइल र ईन्टरनेटको दुरुपयोगका कारण लैगिंक हिंसा बढेको उल्लेख गरे । उनले वैदेशिक रोजगारीका नाममा वेचबिखन हुने क्रम नघटेको उल्लेख गर्दै उनले आफ्नै देशमा मेहनतका साथ काम गर्न आग्रह गरे ।
कार्यक्रममा नेपाल बार एसोसियसनका केन्द्रिय पार्षद सुनिल त्रिपाठी, एबिसि नेपालका प्रदेश प्रमुख मनोज लामिछाने, प्रहरी निरिक्षक केशब केसी, प्रहरी नायब निरिक्षक शेष नारायण भारती लगाएतले बोल्दै लैगिक हिंसा अन्त्यका लागि सबैले एकताबद्ध भएर काम गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय ३ बर्षमा जिल्लामा घटेका बिभिन्न हिंसाका घटनाका बारेमा जानकारी गराएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij