२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

लिस्नु कप फुटबल प्रतियोगिता : आयोजक लिस्नु युवा क्लब क्वाटरफाईनलमा

शनिवार , भाद्र २५, २०७९

भैरहवा, २५ भदौ ।
लिस्नु युवा क्लब, रुपन्देहीको कोटिहवामा जारी २० औं लिस्नु कप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । शनिबार कोटिहवास्थित पशुपति माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न अन्तिम प्री क्वाटर फाईनल खेलमा आयोजक समेत रहेको लिस्नुले पाहुना टीमम पाल्पा ११ लाई २–१ गोल अन्तरले पराजित गर्दै क्वाटर फाईनलमा स्थान सुरक्षित गरेको हो । 

एक नाईजेरीयन खेलाडीसहित मैदान ओर्लिएको आयोजक लिस्नुले खेलको पहिलो हाफ गोलरहित खेल खेल्यो । ०–० गोलको अवस्था रहेको उत्तराद्र्धको ४४ मिनेटमा लिस्नुका राजेन्द्र रावलले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । ५५ मिनेटमा विदेशी खेलाडी फोडे फुफानाले गोल थप्दै अग्रता २–० बनाए ।

६५ मिनेटमा पाल्पा एघारका खेलाडीलाई डी एरिया भित्र लिस्नुका रक्षकले  लडाएपछि पाल्पाले पेनाल्टी हान्ने अवसर पाएकोमा जनोम लिगलले गोल गर्दै गोल अन्तरलाई २–१ बनाए । १ गोल फर्काएपछि पाल्पा ६८ मिनेटमा कप्तान कुशल भण्डारीले रातो कार्ड पाएर बाहिरिएपछि दबाबमा पर्न पुग्यो टीम । गोल गर्ने अवसर पाए पनि सदुपयोग हुन सकेन् । अन्ततः आयोजक लिस्नु २–१ गोलले जित निकाल्र्दै क्वाटर फाईनल प्रवेश गर्यो ।

लिस्नुका हिमाल थापाले उत्कृष्ट खेल प्रदर्शन गरेवापत म्यान अफ म्याच घोषित हुँदै ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । लिस्नुले क्वाटर फाईनलमा अब अञ्चलपुर युवा क्लव भैरहवासँग प्रतिष्पर्धा गर्नेछ ।

प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा र स्याङ्गजाका गरी १६ टीमको सहभागिता रहेको छ भने विजेताले ३ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।

त्यसै गरी सेमिफाईनलमा पराजित हुने २ टीमले जनही २५ हजार रुपैयाँ, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक, उदयमान खेलाडी र सर्वाधिक गोलकर्ताले जनही ७ हजार रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष तीर्थ राज मल्लले बताए ।

प्रतियोगितामा यस पटक सोही स्थानकी श्रीमाया गुरुङले आफना बुवा स्व. डिम बहादुर गुरुङको स्मृतिमा मुख्य प्रायोजकको रुपमा सहयोग गरेको क्लबले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत आइतबारको पहिलो क्वाटर फाईनल खेल साविक विजेता फर्साटिकर फुटबल क्लब र गोर्खा ब्वाईज क्लब बुटवलबीच हुने आयोजक लिस्नु युवा क्लबका सचिव मनोज क्षेत्रीले जानकारी दिए ।