
सोमवार , भाद्र २७, २०७९
भैरहवा, २७ भदौ ।
फोर ब्रदर्श एफ.सी. नवलपरासी रुपन्देहीको कोटिहवामा जारी २० औं लिस्नु कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । कोटिहवास्थित पशुपति माध्यमिक विद्यालयको मैदानमा सोमबार सम्पन्न दोस्रो क्वाटरफाइनलमा राईजिङ्ग स्टार युवा क्लब शिवराज नगरपालिका कपिलवस्तुलाई २–१ गेल अन्तरले पराजित गर्र्दै फोर ब्रदर्शले सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो ।
पुर्बाद्र्धसम्म १ गोलले अग्रता लिए पनि राईजिङ्ग स्टारले खेलको अन्तिम समय सम्हालिन नसक्दा सेमीफाइनलको यात्रामा ब्रेक लाग्यो । पुर्बाद्र्धको ३२ मिनेटमा राईजिङ्ग स्टारका राम बहादुर मगरले गोल गर्दै १–० ले अग्रता दिलाएका थिए ।
पुर्बाद्र्धमा १–० ले पछि परेको नवलपरासीको फोर ब्रदर्शले अन्तिम क्षणमा २ गोल फर्काउँदै सेमीफाइनलमा स्थान सुरक्षित गर्न सफल भयो । कृपा चौधरीले ३९ मिनेटमा गोल फर्काउदै खेललाई बराबरीमा ल्याएका थिए । ४२ मिनेटमा सुरेश कुमालले गोल गर्दै २–१ को अग्रता दिलाएनन् मात्र टीमलाई सेमीफाइनलको यात्रा तय गराइदिए ।
खेलमा फोर ब्रदर्श एलिस मगर म्यान अफ द म्याच घोषित हुँदै ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । त्यसै गरी माईडियाद्वारा प्रायोजित माईडिया म्यान अफ द मुभमेन्टबाट राईजिङ्ग स्टारका गोलरक्षक भीम पुन पुरस्कृत भए ।
प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा र स्याङ्गजाका गरी १६ वटा टीमको सहभागिता रहेको छ भने विजेताले ३ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।
त्यसै गरी सेमीफाइनलमा पराजित हुने २ टीमले जनही २५ हजार रुपैयाँ, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक, उदयमान खेलाडी र सर्वाधिक गोलकर्ताले जनही ७ हजार रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष तीर्थ राज मल्लले बताए ।
प्रतियोगितामा यसपटक सोही स्थानकी श्रीमाया गुरुङले आफ्ना बुवा स्व. डिम बहादुर गुरुङको स्मृतिमा मुख्य प्रायोजकको रुपमा सहयोग गरेको क्लबले जनाएको छ । मंगलबार तेस्रो क्वाटर फाइनल खेलमा सञ्जिवनी युवा क्लब तिलोत्तमा बागधुरा र वालिङ नगरपालिकाबीच हुने आयोजक लिस्नु युवा क्लबका सचिव मनोज क्षेत्रीले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij