
शनिवार , मंसिर २०, २०७७
भैरहवा, २० मंसिर ।
राज्यको शासकिय प्रणालीमा महिलाहरुको पहुँच न्यून हुँदा महिलाहरुको आवाज बलियो हुन नसकेको एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । महिलामाथि हुने हिंसाका मुद्दाहरुमा राज्यले गम्भिरताका साथ नलिएको हुनाले राज्यको शासकीय प्रणालीमा महिलाहरुको पहुँच भए मात्र महिलाहरुको आवाज शक्तिशाली हुने उक्त कार्यक्रममा चर्चा गरिएको थियो ।
शनिवार जनता समाजवादी पार्टी नेपाल महिला महासंघ लुम्बिनी प्रदेशको आयोजनामा भएको लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता, व्यक्ति, समाज र सबैको ऐक्यवद्धता विषयक अन्तरक्रिया तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्वमन्त्री तथा जसपाका केन्द्रिय सदस्य दान बहादुर चौधरीले महिलाहरुमा शिक्षाको कमी हुँदा महिला हिंसा बढेको बताए । पार्टीका लुम्बिनी प्रदेश इञ्चार्ज समेत रहेका चौधरीले शिक्षाको विकास भए महिला हिंसा लगायतका समस्याहरुमा महिला आफैले आवाज सशक्त रुपमा उठाउन सक्षम हुन सक्ने बताए ।
कार्यक्रममा बोल्दै जसपा केन्द्रिय सदस्य सुनिता बस्याल काफ्लेले लैंगिक हिंसाहरुको मुद्दामा राज्यको शासकीय प्रणालीमा रहेका व्यक्तिहरु गम्भिरताका साथ नबोल्दा महिलाहरुले समस्या भोग्दै आएको बताइन् । महिलाहरु राज्यको शासकीय प्रणालीमा प्रतिनिधित्व गर्न सके महिलाहरुमाथि हुने हिंसाहरुको लागी कडा कानुन निर्माण लगायतका पहलकदमी ठोस किसिमले हुन सक्ने उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै पार्टीका केन्द्रिय सदस्य चिनक कुर्मीले लैंगिक हिसांको मुद्दामा महिलाहरु आफैले बलियो गरी आवाज उठाउन सक्नुपर्ने बताए । उनले डर र त्रासका कारण महिलाहरु नबोल्ने हँुदा हिंसाका धेरै घटना समाजमा नै दब्ने गरेको बताए ।
कार्यक्रममा पार्टीका संघीय परिषद् सदस्य हरिषचन्द्र सैथवारले आफ्नो अधिकार लिन महिला स्वयं अग्रसर हुनुपर्ने बताए ।
जसपा लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक सन्तोष कुमार पाण्डेयले पछिल्लो समय नेपालमा राज्यको विभिन्न क्षेत्रमा महिलाको पहुँच पहिला भन्दा बढेको बताए । उनले पहिला भन्दा केही सुधार भए पनि अझै धेरै बाँकी रहेको हुनाले यसको लागी आवाज निरन्तर उठाउनुपर्ने बताए ।
सो अवसरमा पार्टीका लुम्बिनी प्रदेश सदस्य महेन्द्र यादव, मुख्य सचिव यज्ञ पोख्रेल, रुपन्देही जिल्ला अध्यक्ष राम अवतार यादव, विन्दा चौधरी, शुशिला थारु लगायतले लैंगिक हिंसा न्यूनीकरणका लागि छोरा र छोरीलाई समान शिक्षा दिन जरुरी रहेको बताए ।
जसपा लुबिनी प्रदेश महिला महासंघ अध्यक्ष तथा राष्ट्रिय महिला आयोग पूर्व सदस्य धनेश्वरी कुमारी चौधरीको अध्यक्षता तथा रिता यादवको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
यसैबीच भैरहवा टेलिभिजनको समाचार प्रमुख सम्झना शर्मा सम्मानित भएकी छन् । शनिबार जनता समाजवादी महिला महासंघ लुम्बिनी प्रदेशले भैरहवामा आयोजना गरेको एक कार्यक्रममा शर्मालाई सम्मान गरेको हो । जनता समाजवादी महिला महासंघ लुम्विनी प्रदेशको आयोजनामा लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता, व्यक्ति, समाज र सबैको ऐक्यबद्धता विषयक अन्तरक्रिया तथा सम्मान कार्यक्रममा भैरहवा संचार गृह प्रा.लि. द्वारा संचालित भैरहवा टेलिभिजनको समाचार प्रमुख सम्झना शर्मा सम्मानित भएकी हुन् ।
लैङ्गिक हिंसाको विषयमा भैरहवा क्षेत्रमा क्रियाशील रहेर कलम चलाएको भन्दै शर्मालाई सम्मान गरिएको हो ।
कार्यक्रममा शर्मासहित धकधई क्षेत्रबाट प्रकाशित हुने उज्यालो सन्देश पत्रिकाको कार्यकारी सम्पादक तथा माउण्टेन टेलिभिजनका रुपन्देही संवाददता विवेक विश्वकर्मालाई पनि सम्मान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij