भैरहवा, ३१ भदौ ।
रुपन्देही सिद्धार्थनगर नगरपालिकाले आयोजना गरेको प्रथम उपमेयर कप कराँते प्रतियोगिता–२०७९ उपाधी रोहिणी गाउँपालिकाको कार्यालय च्याम्पियन बनेको छ ।
प्रतियोगितामा रोहिणी गाउँपालिकाले दुई वटा स्वर्ण, दुई वटा रजत र एउटा कास्य पदक प्राप्त गरी प्रथम भएको प्रतियोगिताका संयोजक एवं नेपाल सितोरियो कराँते डो संघ रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद देवकोटाले बताए । त्यस्तै दीप बोर्डिङ स्कूल दोस्रो र बुटवल डोजो तेस्रो स्थानमा रहन सफल भए ।
भैरहवामा आयोजित उक्त प्रतियोगितामा पुरुषतर्फ ३४, ३८, ४२, ४७ र महिलातर्फ ३०, ३५, ४० र ४५ तौल समूहका खेलाडीहरु सहभागिता जनाएका थिए ।
प्रतियोगितामा बुटवल डोजो, दिप बोर्डिङ स्कूल, एभरेष्ट बोर्डिङ स्कूल, कालिका कराँते डो एकेडेमी, मजुवा डोजो, सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, शुद्धोधन गाउँपालिका, रोहिणी गाउँपालिका र देवदह नगरपालिकाका खेलाडीहरु प्रतियोगितामा सहभागी थिए ।
प्रतियोगिताका च्याम्पियन बनेको रोहिणीका खेलाडीहरुलाई सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिन् । त्यस्तै दोस्रो र तेस्रो स्थानमा रहन सफल भएका समूहलाई उनले ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिन् ।
प्रतियोगितामा पुरुषतर्फ दीप बोर्डिङ स्कूलका गोविन्द अर्याल र महिलातर्फ कालिका कराँते डो एकेडेमीको अर्यधा ढकाल उत्कृष्ट खेलाडीको रुपमा छनोट भए । उनीहरुलाई पनि ट्रफी, मेडल र प्रमाणपत्रले सम्मान गरिएको छ । विभिन्न तौल समूहको खेलका विजेता अन्य खेलाडीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने प्रशिक्षकहरुलाई पनि प्रमाणपत्रले सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख अधिकारीले सिद्धार्थनगर नगरपालिकाले खेल र खेलाडीहरुको प्रोत्साहनका लागि अगामी बजेटमा कराँते खेलका लागि थप बजेट विनियोजन र योजनाहरु निर्माण गर्ने बताइन् ।
‘खेलले नगरलाई विश्वमै पहिचान दिलाउन सक्ने भएकोले हामीले खेललाई प्राथमिकतामा राखेर काम गर्छौ’ उनले भनिन्, ‘समस्यामा आत्मरक्षाका लागि पनि उपयोगी हुने भएकोले कराँते खेल र खेलाडीहरुका लागि हामी सधै सकारात्मक छौँ ।’ उनले नगरपालिकाले अगामी दिनमा अझ थप प्रतियोगिताहरु आयोजना गर्ने जनाइन् । उनले आगामी दिनमा हुने प्रतियोगितामा प्रथम आउनेलाई नगरपालिकाका तर्फबाट पनि पुरस्कृत गर्ने बताइन् ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्याल, शिक्षा शाखा प्रमुख चेतनशील लम्साल लगायतको सहभागिता रहेको थियो ।