
मंगलवार , मंसिर २३, २०७७
भैरहवा, २३ मंसिर ।
रुपन्देहीको सियारी गाउँपालिकामा वडा नम्बर २ मा अर्घाखाँची सिमेन्टले डेढ करोडको लागतमा स्वास्थ्य केन्द्रको भवन बनाइदिने भएको छ । सियारी गाउँपालिका वडा नम्बर २ मैनिहवामा निर्माण हुने स्वास्थ्य केन्द्रको संघीय सरकारका कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भुसालले शिलान्यास गरेका छन् ।
अर्घाखाँची सिमेन्टको लगानीबाट निर्माण हुने स्वास्थ्य केन्द्र भवन सरकारी मुल्यांकन १ करोड ४० लाख रहेको प्रा.लि.ले जनाएको छ । अर्घाखाँची सिमेन्टका प्रबन्ध सञ्चालक राजेश अग्रवालका अनुसार स्वास्थ्य केन्द्रको निर्माण कार्य यही आर्थिक वर्ष भित्रै हुनेछ ।
शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री भुसालले आउने वर्षमा किसानका लागि मल खादको समस्या नहुने बताए । सहकारीहरुले मलको दुरुपयोग हुँदा मल अभाव हुने गरेको बताए । उनले सरकारले व्यवस्थित गरेर गाउँपालिकाले तोकेको वितरकहरुलाई जिम्मा दिने र त्यो सहकारी वा निजी क्षेत्र पनि हुने हुँदा मलको वितरण प्रभावकारी हुने उनको तर्क थियो । अब जुन पालिकालाई जति चाहिन्छ त्यति मल संघीय सरकारले दिने उनको भनाइ थियो ।
सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले स्वास्थ्य क्षेत्रमा सियारी गाउँपालिकाले अवस्था सुधार गर्दै गएको बताए । कृषिको क्षेत्रमा फड्को मारेको उल्लेख गर्दै थारुले प्रा.लि.ले बनाइदिने स्वास्थ्य केन्द्रको संरचनाले जनतालाई स्वास्थ्य सेवा दिनमा सहयोगी हुने बताए ।
सियारी गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले कृषि, शिक्षा र स्वास्थ्यको क्षेत्रका गाउँपालिकाले पूर्ण रुपमा ध्याने दिएको र त्यसमा अर्घाखाँची सिमेन्टले साथ दिइरहेको बताइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij