
आइतवार , आश्विन १६, २०७९
भैरहवा, १६ असोज ।
लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथको आयोजनामा विजया दशमीको अवसरमा ‘गरबा एण्ड डाण्डिया नाइट’ शनिबार भैरहवामा सम्पन्न भएको छ । भारतको गुजरात लगायतका ठाउँमा नाचिने डाण्डिया नाच भैरहवामा गरिएको कार्यक्रम संयोजक तथा क्लबकी निवर्तमान अध्यक्ष तनु शर्मा कसौधनले बताइन् ।
कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले आफू पहिलोपटक यस्तो कार्यक्रममा सहभागी हुन पाएको बताइन् । उनले लायन्स क्लबले सामाजिक क्षेत्रमा काम गर्दै आएको बताइन् । मन्त्री घर्तीले भनिन्, ‘एक्लै अघि बढेर काम गर्न सकिदैन, सामाजिक संघ–संस्था र सरकार मिलेर अघि बढ्नुपर्छ ।
उनले धर्म संस्कृति र चाडपर्वको संरक्षणमा क्लबले गरेको कार्यको प्रशंसा गरिन् । क्लबले यसअघि विद्यालय र ग्रामीण बस्तीमा गरेको सहयोग अन्य क्लब भन्दा पृथक रहेकाले मन्त्रालयबाट आफूले पनि सहयोग गर्ने बताइन् ।
सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले तालिमलाई तालिमको रुपमा मात्र सीमित गर्न नहुने बताइन् । उनले स्थानीय उत्पादनले बजार पाउने उद्देश्यले भैरहवामा कोसेली घरको शुभारम्भ गरिएको बताइन् । उनले भनिन्, ‘लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले गरेका कार्यक्रमहरुमा म प्रत्यक्ष रुपमा सहभागी हुन पाएको छु, वास्तवमा क्लबले गरेका काम सराहनीय छन् । ’महिलाले केही गर्न सक्दैनन् भन्ने सोचमा परिवर्तन आउनुपर्ने उनको भनाइ थियो ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले लायन्सले उत्कृष्ट कार्य गर्दै आएको बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका महासचिव विजय पाण्डे, लायन्स एरिया चिफ संगम न्यौपाने, लियो डिष्ट्रिक प्रेसिडेण्ट एम.डी. न्यौपाने, लायन्स क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरका अध्यक्ष सुनिल सेन्चुरी लगायतले लायन्स क्लबको महत्वको बारेमा बोलेका थिए ।
लायन्स क्लब अफ सिद्धार्थनगर युथकी अध्यक्ष साबा खानको अध्यक्षता, कार्यक्रम संयोजक तथा निवर्तमान अध्यक्ष तनु शर्मा कसौधनको स्वागत, प्रथम उपाध्यक्ष नीपा क्षेत्रीको ध्वजा अभिवादन तथा सचिव तृप्ती वर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij