२०८२, श्रावण २७ गते

Aug 12 2025 | २०८२, श्रावण २७ गते

चाडपर्वमा अपराधिक क्रियाकलाप रोक्न लुम्बिनी प्रदेशमा ८ हजार प्रहरी परिचालन

सोमवार , आश्विन १७, २०७९

भैरहवा, १७ असोज ।
लुम्बिनी प्रदेश प्रहरीले चाडपर्व दशै, तिहारलाई लक्षित गर्दै ८ हजार १ सय ७६ प्रहरी परिचालन गर्दै सुरक्षा दिइरहेको छ । प्रदेश प्रहरी कार्यालय दाङले चाडपर्वका बेला हुने अपराधिक क्रियाकलापहरुलाई मध्यनजर गर्दै १९५० वटा टोलीलाई डियुटीमा विभिन्न क्षेत्र खटाएको छ । 

सम्भावित अपराधिक गतिबिधि नियन्त्रण तथा दुर्घटना रोक्नका लागि प्रहरीको उपस्थिति र सूचना संकलनको कामलाई प्रभावकारी बनाउन प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नल प्रसाद उपाध्यायको कमाण्डमा प्रदेश कमाण्ड पोस्टसहितको सुरक्षा रणनीति बनाइ सुरक्षार्थ छन् । सुरक्षाको दौरानका ९ सय २७ वटा सञ्चार उपकरण, ठूला र साना हतियार २८ सय ७२ र तिनमा प्रयोग हुने गोली झण्डै २५ हजार परिचालन गरिएको छ भने ४ हजार ७३ वटा लाठी पनि प्रहरीले प्रयोग गर्ने गरी दशै तिहार सुरक्षा रणनीति बनाइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रदेश कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी नवरत्न पौडेलका अनुसार प्रहरी निरीक्षकको कमाण्डमा ३ वटा प्रदेश रिर्जभ टोली, १२ वटै जिल्लामा कार्यालय प्रमुखको नेतृत्वमा कमाण्ड पोस्ट, २७ वटा जिल्ला रिजर्भमा ४ सय ८५ प्रहरीको परिचालन गरिएको छ । नागरिकको शान्ति सुरक्षालाई प्रभावकारी बनाउनका लागि प्रहरीले क्विक रेसपोन्स गर्ने गरी एक सय ५ वटा क्युआरटी परिचालन, कार्यालयको सुरक्षा गर्न प्रदेशभर ४ सय ७८ वटा टोलीमा १७ सय ४४ प्रहरी परिचालन गरेको छ । त्यस्तै, चारपांग्रे मोबाइल गस्ती ८३ वटा, मोटरसाइकल गस्तीमा ४ सय ६१, पैदल गस्तीमा ४ सय ९१ प्रहरीलाई परिचालन गरिएको छ भने २८१ वटा पिकेट टोली आम नागरिकको सुरक्षामा खट्ने छ ।

सडक सुरक्षा, चोरी–तस्करी, लुटपाट, जबरजस्ती चन्दा संकलन, झै–झगडा, ठगी, सवारी दुर्घटना र ओभरलोड, हैरानी र अवैध हातहतियार एवं लागूऔषध ओसारपसार गर्ने सम्भावनालाई मध्यनजर गर्दै नियन्त्रण गर्नका लागि विशेष सुरक्षा योजनाअन्तर्गत ट्राफिकसहितको संयुक्त चेकिङमा ८३ वटा टोली प्रदेशका विभिन्न क्षेत्रमा परिचालन भएका छन । त्यस्तै पर्वको समयमा पनि भिआइपी र भिभीआइपीको आवागमनलाई मध्यनजर गर्दै २८ वटा टोलीमा १६५ जना प्रहरी परिचालन गरिएको प्रदेश कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी पौडेलले जानकारी दिए । 

भिडभाड, बसपार्क, सीमा क्षेत्रमा ठगिने, लुटपाट हुने, हैरानी खेप्नुपर्ने जस्ता काम नहोस् भन्नका प्रहरीको उपस्थिति र सूचना संकलनको कामलाई प्रभावकारी बनाउनका लागि १ सय १२ जना  सादा पोशाकका प्रहरीहरु पनि तैनाथ गरिएको छ । यात्रुहरु सहजताका लागि सहजीकरण गर्न प्रदेशभरी ४३ वटा यात्रु सहायता कक्ष स्थापना भइ सेवा दिइरहेको कार्यालयले जानकारी दिएको छ । 

प्रहरीको अधिकतम प्रयोग गरी आम नागरिकको शान्ति सुरक्षा लगायत ट्राफिक व्यवस्थापनकै लागि बाहिरबाट पनि सुरक्षाकर्मी जिल्ला जिल्लामा पठाइएको । धार्मिक तथा पर्यटक स्गलहरुमा २५ वटा टोलीमा १३५ प्रहरी सुरक्षार्थ खटिएका छन, राजमार्गमा २७ वटा स्कटिङ टोली, लोक मार्गमा क्रस पेट्रोलिङ हतियारसहित ४९ टोली, २४ घण्टा राजमार्ग विशेष चेकिङमा ६१ टोली, ग्रामिण गस्तीमा १७२ वटा टोली प्रदेशभरी परिचालन भएका छन ।   

आर्थिक कारोबार बढी हुने सुनचाँदी पसल, बैंक तथा वित्तीय संस्थामाथि सुरक्षा निगरानी बृद्धि गर्ने, स्वदेश फर्कने नेपालीहरुमाथि सीमा नाकामा हुन सक्ने हैरानी, लुटपाटलाई मध्यनजर राखी सुरक्षा सतर्कता बढाउने र नेपाल फर्कन सहजीकरण गर्ने, आवश्यकता अनुसार मुख्य राजमार्गमा रातको समयमा गस्ती र चेकिङ गर्ने कार्य भइरहेको छ । रातिको समयमा पनि ठाँउ ठाउमा गस्ती बढाइएको छ, यो समयमा चेकजाँच पनि बढी हुने भएकोले हाम्रै सुरक्षाको लागि हो भनी आम नागरिकले झन्झट रुपमा नलिन समेत प्रहरीले सबैलाई आग्रह गरेको छ ।

पर्वको समयमा केही नहोस् भन्नकै लागि नागरिक सुत्दा पनि प्रहरी जागेर सुरक्षा प्रदान गरिरहेको हुन्छ । सामान्य अवस्थामा भन्दा अहिले सुरक्षाकर्मी बढाइएको छ । बजार अनुगमन गरी कालोबजारी गर्ने र कृत्रिम अभाव हुन नदिन प्रदेशभर ४२ वटा टोलीमा १ सय ६३ प्रहरी परिचालन गरी बजार अनुगमन टोलीमा पठाइएको छ । नेपाल प्रहरीका साथ साथै सशस्त्र प्रहरी बल, भारतीय प्रहरी, एसएसबी, सञ्चारकर्मी, उद्योगी–व्यवसायी, स्थानीयसँग समन्वय गरी पनि सुरक्षा प्रबन्ध मिलाइएको छ । 

अन्य समयमा भन्दा चाडपर्वमा बढी चोरीचकारी हुने, दुर्घटना बढने, झै–झगडा गर्ने बढी हुन्छ, त्यसैले आम सर्वसाधारण पनि अलि सचेत र चनाखो हुनुपर्छ, प्रहरीको कार्यमा जनताको साथ पनि हुन जरुरी छ । नागरिक मात्र होइन कुनै पनि प्रहरीले सर्वसाधारणबाट अनुचित फाइदा लिने काम गरेको पाइए तत्काल उजुरी गर्न समेत प्रहरीले आग्रह गरेको छ । 

Police check (2).JPG

प्रदेश प्रहरीको अलावा जिल्ला जिल्लाले पनि दशै तिहार र छठ पर्वलाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना बनाई सेवामा छन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पनि १ हजार २ सय ४८ जना प्रहरी परिचालन सहितको सुरक्षा रणनीतिसहित फिल्डमा रहेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए । ‘शान्ति सुरक्षा लगायत ट्राफिक व्यवस्थापनकै लागि जिल्लमा थप ५० प्रहरी ल्याइ भएको जनशक्तीको अधिकतम प्रयोग गर्ने गरी सुरक्षार्थ खटिएका छौ । सामान्य अवस्थामा भन्दा अहिले सुरक्षाकर्मी २० प्रतिशतले बढाइएको छ । यो दौरान नागरिक सुत्दा पनि प्रहरी जागेको हुन्छ, ’एसपी रेग्मीले भने । 

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले पनि दशै तिहारलाई लक्षित गर्दै लामो दुरीका सवारीसाधनमा चालकले मापसे वा लापसे गरेको छ छैन भनी चेकजाँचका साथै सवारीसाधनको यन्त्रिक चेकजाँच पनि गरिरहेकोे छ ।

Police check.jpeg

सीमा क्षेत्र बेलहिया र भैरहवा बसपार्कबाट छुटेका गाडीको चालकलाई ब्रेथलाइजरबाट मापसे र किटबाट लागुऔषध सेवन गरेको चेकजाँच ३ दिनबाट भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख केशव केसीले बताए । न्युज कारखाना