२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

विवेकशील–साझा एकता भोलि

मंगलवार , मंसिर २३, २०७७

काठमाण्डौ, २३ मंसिर ।

विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण गरी विवेकशील साझा पार्टी घोषणा गरिने भएको छ ।
बुधबार अपरान्ह ३ बजे घोषणा कार्यक्रम हुनेछ । कोरोना भाइरस महामारी रहेकोले जुममार्फत् नै दल एकीकरण घोषणाको कार्यक्रम गर्न लागिएको हो ।

‘अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डे रहनु हुन्छ,’ विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनाले भनिन्, ‘दुवै दलबाट केन्द्रीय समितिमा ६५/६५ जना रहनु हुन्छ।’

सचिवालय २६ सदस्यीय रहने उनले जानकारी दिइन् । नाम विवेकशील साझा र चुनाव चिन्ह तराजु राख्ने यी दलबीच सहमति भइसकेको छ । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले दुई पार्टी एक हुन लागेको बताएका छन् ।

‘हामी एक हुँदैछौं । विगतका कमजोरीप्रति क्षमायाचना गर्दछौं,’ पार्टी एकताबारे मिश्रले भनेका छन्, ‘तपाईंको साथ र सहयोगले विवेकशील साझा पार्टीलाई देशको वास्तविक रूपान्तरणको संवाहक बनाउँछौं भन्नेमा हामी विश्वस्त छौं ।’

संयोजक मिश्रले अस्तित्वमा रहन मात्रै नभई नेतृत्वमा पुगेर देशमा सुशासन, सम्वृद्धि र स्वाभिमान स्थापित गर्न पार्टी जन्मिएको उल्लेख गरेका छन् ।

‘हामी केवल अस्तित्व’मा रहन होइन, ‘नेतृत्व’ मा पुगेर यो देशमा सुशासन, सम्वृद्धि र स्वाभिमान स्थापित गर्न जन्मिएको पार्टी हौं । एकताका लागि प्रेरित र सहयोग गर्ने सबैप्रति आभारी छौँ,’ उनले भने । एक भएपछि विवेकशील साझा पार्टीले ६ महिनाभित्र एकता महाधिवेशन गर्ने बताएको छ ।

यी दुई दल २०७४ साउन ११ गते पनि एक भएका थिए । २०७५ पुसमा यो दल फुटेको थियो । यी दुई दल गत वैशाखदेखि नै एकताको प्रक्रियामा अगाडि बढेका थिए । पार्टी एकताप्रति असन्तुष्ट रहेका विवेकशील नेपाली दलकी उपाध्यक्ष अजीता राईसहित १३ जनाले हालै एकतामा सहभागी नहुने बताएका थिए ।